काठमाडौँ । लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस २०२६ (जुन २६) को अवसरमा चन्द्रागिरीस्थित नारायण जन माध्यमिक विद्यालयमा लागूऔषध दुरुपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
विद्यालयको सभा कक्षमा आयोजित कार्यक्रममा करिब ९० जना छात्र–छात्रालाई लागूऔषध दुरुपयोगका असर, जोखिम तथा त्यसबाट बच्ने उपायबारे जानकारी गराइएको थियो।
कार्यक्रममा पूर्व सहायक प्रमुख जिल्ला अधिकारी तथा लामो समयदेखि लागूऔषध नियन्त्रण र सचेतना क्षेत्रमा सक्रिय प्रशिक्षक खड्गबहादुर श्रेष्ठले सरल र सहज शैलीमा प्रशिक्षण दिँदै विद्यार्थीहरूलाई लागूऔषधजन्य पदार्थबाट टाढा रहन र सधैं सचेत बन्न आग्रह गरेका थिए।

त्यस्तै, विद्यालय व्यवस्थापन समितिकी सदस्य तथा जागरण महिला विकास समाज नेपालकी अध्यक्ष सुगन्धा सुवेदी सिग्देलले कार्यक्रमको सहजीकरण गर्दै लागूऔषध दुरुपयोगका कारण, प्रभाव र त्यसबाट उत्पन्न हुने सामाजिक तथा स्वास्थ्य समस्याबारे प्रशिक्षण दिएकी थिइन्।
कार्यक्रमको विशेष आकर्षणका रूपमा पुनःस्थापना केन्द्रमा उपचारपछि हाल सेवामा संलग्न रहेका दुई जना पूर्व लागूऔषध प्रयोगकर्ताले आफ्ना अनुभव, भोगाइ र वर्तमान अवस्थाबारे विद्यार्थीहरूसँग प्रत्यक्ष अनुभव साटेका थिए। उनीहरूको अनुभवले विद्यार्थीहरूलाई लागूऔषधको दुष्परिणामबारे थप सचेत बनाएको आयोजकले जनाएको छ।
प्रशिक्षणको अन्त्यमा विद्यार्थीहरूलाई समूहगत रूपमा आफूले सिकेका विषय प्रस्तुत गर्न लगाइएको थियो। विद्यालयका प्रधानाध्यापक विष्णु रुपाखेतीले विद्यार्थीहरूलाई लागूऔषधको प्रयोगबाट टाढा रहँदै अध्ययनमा केन्द्रित हुन आग्रह गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए।

आयोजकका अनुसार उक्त एकदिने प्रशिक्षण कार्यक्रमबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब एक हजार जना लाभान्वित हुने अनुमान गरिएको छ।
प्रकाशित मिति: १७ असार २०८३, बुधबार