काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङले स्ट्रेट अफ हर्मुज खुला राख्न सहयोग गर्ने प्रतिबद्धता जनाएको बताएका छन् । साथै, इरान–अमेरिका तथा इरान–इजरायल तनावका बीच चीनले इरानलाई कुनै सैन्य सामग्री उपलब्ध नगराउने आश्वासन दिएको पनि ट्रम्पले उल्लेख गरेका छन् ।
बेइजिङमा दुई नेताबीच भएको भेटवार्तापछि फक्स न्यूजको ‘ह्यानिटी’ कार्यक्रममा प्रतिक्रिया दिँदै ट्रम्पले चीन युद्धको अवस्था थप जटिल बनाउन नचाहेको बताए । उनका अनुसार राष्ट्रपति सीले अमेरिका र इजरायलविरुद्धको द्वन्द्वमा इरानलाई हतियार वा सैन्य उपकरण नदिने स्पष्ट धारणा राखेका थिए ।
ट्रम्पले स्ट्रेट अफ हर्मुज विश्व ऊर्जा आपूर्तिको महत्वपूर्ण समुद्री मार्ग भएकाले त्यसलाई अवरुद्ध हुन नदिन चीन सकारात्मक रहेको बताए । उनले सी जिनफिङले आवश्यक परे सहयोग गर्न तयार रहेको सन्देश दिएको पनि दाबी गरे ।
अमेरिकी राष्ट्रपति ट्रम्प बुधबार तीन दिने औपचारिक भ्रमणका लागि चीन पुगेका हुन् । भ्रमणका क्रममा व्यापार, सुरक्षा र मध्यपूर्वको विकसित परिस्थितिबारे दुई नेताबीच विस्तृत छलफल भएको जनाइएको छ ।
प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार