काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधानको उल्लंघन गर्नेहरूलाई उत्तरदायी नबनाएसम्म विधिको शासन स्थापित हुन नसक्ने बताएकी छिन् ।
कानून दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उहाँले संविधान केवल कानूनी दस्तावेज मात्र नभई नागरिकको जीवन पद्धति हुनुपर्नेमा जोड दिएकी छिन् । नेपाल प्रधान न्यायालय ऐन, २००८ लागू भएको दिनको स्मरण गर्दै उनले आधुनिक न्याय प्रणालीको जग यसै ऐनले हालेको चर्चा गरिन् । संवैधानिक सर्वोच्चता र न्यायको सार्वभौमसत्तालाई शिथिल बनाउने प्रयासहरू भइरहेको त छैन भन्दै उनले प्रश्न समेत उठाएकी छिन् । न्यायलाई स्वार्थको मुकुण्डो बनाउने र विधिको शासनमा छेडखानी गर्ने प्रवृत्तिले लोकतन्त्रलाई धरापमा पार्ने उनको चेतावनी छ ।
उनले भनिन्, ‘संविधान यथास्थितिमा राखेर संविधानको विरुद्ध गरिने काम क्रान्ति वा परिवर्तन हुन सक्दैन । संविधानलाई विरुप पारेर सञ्चालकहरूको रूप सिँगार्न खोज्नु विडम्बनापूर्ण हुन्छ ।’
उनले सबैलाई संविधानवाद र नागरिक हकको संरक्षणका लागि एकजुट हुन अपील गरेकी छिन् ।
प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार