काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले समाजका ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।
मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘ज्येष्ठ नागरिकको ज्ञान र सीप हस्तान्तरण’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । उनले अधिकारीलाई दक्षिण एशियाकै प्रथम निर्वाचित वामपन्थी प्रधानमन्त्री तथा सरल र सादगी नेताका रूपमा चित्रण गरेका छन् । राष्ट्रपति पौडेलले वि.सं. २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले पहिलो पटक ज्येष्ठ नागरिकका लागि मासिक वृद्ध भत्ताको शुरुवात गरेको ऐतिहासिक तथ्यको स्मरण गरेका छन् । तत्कालीन समयमा १०० रुपैयाँबाट शुरु भएको भत्ता हाल ४ हजार पुगेको उल्लेख गर्दै उनले ज्येष्ठ नागरिकको सम्मान र सुरक्षामा सो कदम कोशेढुङ्गा सावित भएको बताएका छन्। ज्येष्ठ नागरिकलाई समाजको एक विशिष्ट वर्गका रूपमा परिभाषित गर्दै राष्ट्रपतिले उनीहरूको स्वास्थ्य उपचार, उचित खानपान र स–सम्मान बाँच्न पाउने हकको सुनिश्चितता हुनुपर्ने बताएका छन् । पछिल्लो समय बढ्दो सहरीकरण, युवा पुस्ताको वैदेशिक रोजगारी र पारिवारिक असमझदारीका कारण ज्येष्ठ नागरिकहरूले अपहेलित हुनुपरेकोमा उहाँले चिन्ता व्यक्त गरेका छन् ।
राष्ट्रपतिले भने, ‘विपी कोईराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता नेताहरूसँगै मनमोहनजीले नेपाल र भारतको स्वाधीनता सङ्ग्राममा महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको थियो । उहाँ एक उदारवादी वामपन्थी नेता हुनुहुन्थ्यो, जसले प्रजातन्त्र स्थापनाका लागि काँग्रेस र कम्युनिस्टबीचको सहकार्यमा जोड दिनुभयो । वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिनुपर्छ । उनीहरूका असल अभ्यासलाई शैक्षिक पाठ्यक्रममा समावेश गर्न र शारीरिक रूपमा सक्षम ज्येष्ठ नागरिकलाई उत्पादनमूलक कार्यमा संलग्न गराउन सरकारले ठोस नीति र कार्ययोजना बनाउन आवश्यक छ ।’
नेपालको जनसङ्ख्या पनि बिस्तारै बुढ्यौलीतर्फ उन्मुख भइरहेको सन्दर्भमा यस अन्तर्राष्ट्रिय सम्मेलनले अन्य मुलुकका सफल अभ्यासहरूबाट सिक्ने अवसर प्रदान गर्ने उनले विश्वास व्यक्त गरेका छन् । सम्मेलनले अन्तर–पुस्ता ज्ञान हस्तान्तरण र ज्येष्ठ नागरिकको प्रभावकारी व्यवस्थापनका लागि एक सेतुको काम गर्ने भन्दै राष्ट्रपतिले कार्यक्रमको पूर्ण सफलताको कामना गरेका छन् ।
प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार