काठमाडौँ । विघटित नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विश्वविद्यालयहरूमा विद्यार्थी संगठन राख्न नदिन प्रहरी इकाइ स्थापना गर्ने सरकारको घोषणाको विरोधमा चित्रकला प्रतियोगिता आयोजना गरेको छ ।
शिक्षा क्षेत्र शान्ति क्षेत्र हुनुपर्ने सन्देश प्रवाह गर्न सरकारको उक्त घोषणाको विरोध स्वरुप चित्रकला प्रतियोगिता आयोजना गयिरएको संघका निवर्तमान केन्द्रिय सचिव हिमाञ्चल घिमिरेले बताएका छन् । उनले विश्वविद्यालयमा प्रहरी युनिट स्थापना गर्दा विद्यार्थीमा भय र त्रासका उत्पन्न हुने भन्दै उक्त घोषण फिर्ताको माग स्वरुप प्रतियोगिता आयोजना गरिएको बताएका छन् । ४५ जना चित्रकार सहभागि भएको उक्त प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कार दिइने घिमिरेले बताएका छन् ।
उनले भने, ‘सरकारले सयदिने कार्यसूचिको ८६ नम्बर बुँदामा विश्वविद्यालयहरुमा विद्यार्थी संगठन खारेज गर्नको लागि प्रहरीको युनिट समेत स्थापना गर्ने भनेर राखेको रहेछ । त्यसको विरोधमा शिक्षा क्षेत्र शान्ती क्षेत्र हो भन्ने सन्देश दिनको लागिको लागि प्रतिस्पर्धा भइरहेको छ । धेरैजनाले यस प्रतियोगितामा भाग पनि लिइदिनुभएको छ । प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार पुरस्कार दिनेगरी छुट्याएका छौँ । प्रतियोगितामा ४५ जना सहभागि हुनुहुन्छ । चित्रकला प्रतियोगिताको नतिजा समेत आजै नभए भोलिसम्म सार्वजनिक गर्नेछौँ ।’
प्रतियोगिताको नतिजा बिहीवारसम्म सार्वजनिक गरिने समेत घिमिरेले जानकारी दिएका छन् ।
प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार