बर्लिन । जर्मनीको हाइडेलबर्ग विश्वविद्यालयमा सुरक्षित राखिएका नेपालका ८०० भन्दा बढी ऐतिहासिक पाण्डुलिपि नेपाल फिर्ता हुने भएका छन्। बर्लिनस्थित नेपाली राजदूतावास र हाइडेलबर्ग विश्वविद्यालयबीच भएको सम्झौतापछि ती सामग्री नेपाल पठाउने प्रक्रिया अघि बढाइएको हो।
शुक्रबार जर्मनीका लागि कार्यवाहक राजदूत सागर प्रसाद फुयाल र विश्वविद्यालयका प्राध्यापक डा. एक्सेल मिखाइल्सबीच ‘सेन्टर फर एसियन एण्ड ट्रान्सकल्चरल स्टडिज (क्याट्स)’ मा आयोजित कार्यक्रममा हस्तान्तरण सम्झौतामा हस्ताक्षर भएको हो।
नेपाल फर्काइने ‘वाल्टर रिन्डफ्लाइस संग्रह’मा १३औँदेखि २०औँ शताब्दीसम्मका बहुमूल्य सामग्री समावेश छन्। तीमध्ये ४६० भन्दा बढी ताम्रपत्रमा लेखिएका पाण्डुलिपि रहेका छन्, जुन संस्कृत र नेपाल भाषा (नेवारी) मा लेखिएका छन्। यसमा धार्मिक ग्रन्थ, राजकीय अभिलेख, अदालतका कागजात, आयुर्वेदसम्बन्धी लेख, व्यक्तिगत टिपोट तथा ऐतिहासिक पत्राचार समेटिएका छन्।

हस्तान्तरणअघि ती पाण्डुलिपिको संरक्षण, डिजिटाइजेसन र वैज्ञानिक अभिलेखीकरण गरिएको विश्वविद्यालयले जनाएको छ। प्रा. माइकेल्सका अनुसार यो संग्रह नेपाल बाहिर रहेको नेपाली ताम्रपत्र पाण्डुलिपिको सम्भवतः सबैभन्दा ठूलो संग्रह हो, जसको डिजिटाइजेसनले अन्तर्राष्ट्रिय अनुसन्धानकर्तालाई पहुँच सहज बनाउनेछ।
कार्यक्रममा बोल्दै कार्यबाहक राजदूत फुयालले पाण्डुलिपि फिर्तीलाई नेपालको सांस्कृतिक सम्पदा संरक्षणका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले यसले ऐतिहासिक सम्पदा पुनःप्राप्ति अभियानलाई थप मजबुत बनाउने उल्लेख गरे।
अब यी पाण्डुलिपि नेपाल ल्याई सम्बन्धित निकायमार्फत संरक्षण, अध्ययन तथा सर्वसाधारणका लागि उपलब्ध गराइने जनाइएको छ। यो पहलले नेपाल–जर्मनीबीच शैक्षिक तथा सांस्कृतिक सहकार्य अझ विस्तार हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २० बैशाख २०८३, आईतवार