काठमाडौँ । पूर्वमुख्यसचिव लिलादेवी गड्तौलले राज्यको माथिल्लो तहसम्मै महिलामाथि हुने विभेद कायमै रहेको बताउनुभएको छ ।
आईतवार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौं महानगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको जुनसुकै क्षेत्रमा समेत महिलामाथि अन्याय र असमान व्यवहार हुने गरेको उहाँको भनाइ छ । उहाँले महिला आयोगले समेत महिला अधिकार उत्थानका सम्बन्धमा पुरुषसँगै छलफल गर्नुपर्ने बाध्यता दुःखद् भएको बताउनुभयो । उहाँले सार्वजनिक पद धारणा गरेका महिलाले गर्ने सकारात्मक कामको जस अरुले नै लिने र अपजस मात्र महिला पात्रको टाउको थुपार्ने प्रवृत्ति रहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘राज्यको सबै क्षेत्रमा महिलालाई चुनौती नै रहेको छ । हाम्रो देशमा महिला आयोग एउटा मात्र हुन्छ । त्यसले पुरुषहरुसँग छलफल नगरी हुँदैन । अनि आफूले केही कुरा ग¥यो भने त्यो कुरा पहिले नै माथिकालाई सुनाइसकेका हुन्छन् । यस्तो अवस्थामा पनि म मुख्यसचिव भए । महिलालाई तल्लो पदमा मात्रै होइन माथिल्लो तहमा पनि च्यालेन्ज नै छ । महिलाले गरेको काममा पनि आफूले सिकाएको भनि क्रेडिट हुने प्रवृत्ति एकदमै धेरै नै छ । तर पुरुषहरुको हकमा यस्तो हुदैन ।’
उहाँले महिला अधिकारको रक्षा र कार्यान्वयनका लागि राज्य गम्भीर हुन जरुरी रहेको बताउनु भयो ।
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आईतवार