काठमाडौँ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला समानता कुनै उपहार वा टोकन नभई नैसर्गिक मानव अधिकार भएको बताउनुभएको छ ।
समाजमा अझै पनि महिलाको क्षमतामाथि प्रश्न उठाउने विभेदपूर्ण मानसिकता कायम रहेको भन्दै उहाँले त्यस्तो सोचको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको हो । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै डंगोलले समाजको दोहोरो मापदण्डप्रति गुनासो गर्नुभयो । सोही क्रममा उहाँले प्रविधिको विकाससँगै महिलाहरुमाथि हुने हिंसाको स्वरुप फेरिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । विशेषगरी सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गर्दै महिलाहरुमाथि ‘नदेखिने हिंसा’ भइरहेको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पुरुषहरुलाई शुरुमै सक्षम भनेर लिइन्छ, कामले असक्षम नदेखाएसम्म उनीहरु सक्षम नै मानिन्छन् । तर महिलाहरुलाई भने जबसम्म कामले पुष्टि गर्दैन, तबसम्म असक्षम नै भनिरहने र सम्झाइरहने प्रवृत्ति छ । जबसम्म यो भनाइ र सोचको अन्त्य हुँदैन, तबसम्म महिला दिवस जस्ता दिनहरुले हामीलाई सम्झाइरहनुपर्छ कि महिलाहरु पनि उत्तिकै सक्षम छन् । हामीले घरमा हुने हिंसा र शरीरमा देखिने निलो डामको कुरा त गर्छौं, तर नदेखिने पीडा र घाउको कसले चर्चा गर्छ ? सबैभन्दा नदेखिने घाउ र पीडा अहिले सामाजिक सञ्जालले महिलाहरुलाई दिइरहेको छ ।’
कोही व्यक्ति मन नपरेकै कारण वा व्यक्तिगत रिसइबीका कारण सामाजिक सञ्जालमा महिलालाई होच्याउने, चरित्र हत्या गर्ने र भ्रामक सामग्रीहरु फैलाउने काम भइरहेको भन्दै उहाँले यसलाई समाज बिथोल्ने कार्यको संज्ञा दिनुभयो । एआई जस्ता आधुनिक प्रविधिको प्रयोग भइरहँदा त्यसको सकारात्मक पक्ष धेरै भएपनि महिलाविरुद्ध भ्रामक सामग्री बनाउन यसको दुरुपयोग भइरहेकोतर्फ उहाँले सबैको ध्यानाकर्षण गराउनु भयो । महिलाहरुको विषय महिलाको मात्र नभई सम्पूर्ण समाज र पुरुषहरुको पनि विषय भएको बताउँदै उहाँले यस्ता विभेदपूर्ण अभिव्यक्ति र क्रियाकलापहरु सोचबाटै निर्मूल पार्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आईतवार