काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनपछि मुलुकमा ‘त्रिशंकु संसद’ (हङ पार्लियामेण्ट) बन्ने प्रक्षेपण गर्नुभएको छ ।
बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले निार्वचनपछि कुनै एक दलको स्पष्ट बहुमत नआउने र पुनः त्रिशंकु संसद बन्ने दाबी गर्नुभएको हो । सातै प्रदेशको चुनावी अभियानबाट फर्किएपछि पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले वर्तमान निर्वाचन प्रणाली र शासकीय स्वरूपका कारण एकल बहुमतको सम्भावना नरहेको बताउनु भयो । दाहालले आफ्नो पार्टीको आन्तरिक अध्ययन र अनुसन्धानका आधारमा यस पटकको निर्वाचनमा चारवटा मुख्य राजनीतिक धाराहरूबीच प्रतिष्पर्धा हुने उल्लेख गर्नुभयो । उहाँकाअनुसार नेपाली कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । पार्टीलाई अवमूल्यन गर्ने प्रवृत्ति समाजमा रहेको गुनासो गर्दै उहाँले राम्रो गर्न सक्दा नेकपा अगाडि आउने सम्भावना रहेको बताउनु भयो । संयोजक दाहालले यस पटक आफ्नो पार्टीभित्र असाध्यै राम्रो एकता पैदा भएको दाबी गर्नुभयो । सातै प्रदेशमा नेता, कार्यकर्ता र शुभेच्छुकहरू सक्रियतापूर्वक निर्वाचनमा होमिएको बताउँदै उहाँले नेपाली कम्युनिष्ट पार्टी नै कुनैपनि समस्या नभएको पार्टी रहेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिलेसम्मको परिस्थिति हेर्दा हाम्रो मोटा–मोटी आँकलन के छ भने हाम्रो निर्वाचन प्रणाली र शासकीय स्वरूपका कारण कुनै एक पार्टीको बहुमत आउने सम्भावना अहिलेपनि हामीले देखेका छैनौं । हुने भनेको फेरि पनि त्रिशंकु संसद नै हो, हङ पार्लियामेन्ट नै हुने स्थिति हो र सबै–सबैले पनि यही नै आकलन गरेको स्थिति छ । त्यस्तो परिस्थितिमा पनि हामीले जनमतलाई कदर गर्दै फेरि समझदारीको साथ हाम्रो लोकतान्त्रिक विधि विधान र मूल्य मान्यताअनुसार अगाडि बढ्ने कमिटमेन्ट हामी सबै राजनीतिक दल र निर्वाचनमा सहभागी सबै–सबैको तर्फबाट हुनुपर्दछ भन्ने हाम्रो धारणा पनि म राख्न चाहन्छु । अहिले हाम्रो पार्टी नेपाली कम्युनिष्ट पार्टीको पक्षमा म जति ठाउँमा गएँ सातै प्रदेशमा र हाम्रा नेताहरु जहाँ–जहाँ जानुभएको छ त्यो–त्यो ठाउँमा यो पटक हाम्रो पार्टीभित्र असाध्यै राम्रो एकता पैदा भएको छ । हाम्रा नेता कार्यकर्ता समर्थक शुभेच्छुक सबै सक्रियतापूर्वक निर्वाचन प्रक्रियामा लाग्नुभएको छ ।’
आफ्नो पार्टीको प्राथमिकताका बारेमा प्रष्ट पार्दै दाहालले कृषि, उद्योग, पर्यटन र ऊर्जा क्षेत्रमा गुणात्मक विकास गरी रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, भ्रष्टाचार नियन्त्रण र सामाजिक विभेदको अन्त्य आफ्नो मुख्य एजेण्डा भएको उहाँको भनाइ छ । निर्वाचनको परिणाम जे जस्तो आए पनि त्यसलाई स्वीकार्ने मानसिकताका साथ आफूहरू अगाडि बढेको उहाँले बताउनु भयो । जनमतको कदर गर्दै लोकतान्त्रिक विधि र मूल्य मान्यताअनुसार समझदारीका साथ अगाडि बढ्न सबै राजनीतिक दलहरू प्रतिवद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहीबार