Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई निर्वाचन अवलोकन गर्न दिइने


कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई निर्वाचन अवलोकन गर्न दिइने

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र प्रक्रियाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको छ ।

बिहीवार निर्वाचन आयोगले नेपालमा रहेका सबै कुटनीतिक नियोगका प्रमुख र प्रतिनिधिहरूलाई निर्वाचनबारे जानकारी गराएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईकाअनुसार निर्वाचन केवल आन्तरिक सरोकारको विषय मात्र नभई अन्तर्राष्ट्रिय समुदायको पनि चासोको विषय हुने भएकाले नेपालको निर्वाचनमा विश्व समुदायको सकारात्मक सहयोग र सहभागिताका लागि ‘ब्रिफिङ’ गरिएको हो । नेपालमा रहेका सबै विदेशी दुतावास, संयुक्त राष्ट्रसंघीय निकाय र विकास साझेदारहरूलाई निर्वाचनका गतिविधिबारे जानकारी (ब्रिफिङ) गराउने परम्परा विगतदेखि नै रहेको आयोगले जनाएको छ । ब्रिफिङपछि कुरा गर्दै आयोगका प्रवक्ता भट्टराईले कुटनीतिक समुदायलाई निर्वाचनका बारेमा सत्य–तथ्य जानकारी लिन–दिन र पर्यवेक्षणका लागि आवश्यक तयारी गर्न यसले सहज हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुनैपनि देशको निर्वाचन त्यो देशको सरोकार मात्र नभएर अन्तर्राष्ट्रिय समुदायको पनि सरोकारको विषय हुन्छ । त्यस हिसाबले नेपालमा हुन लागेको यो प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तर्राष्ट्रिय समुदायको पनि चासो छ । उहाँहरूले हामीलाई सहयोग पनि गरिरहनुभएको छ र यहाँका गतिविधिहरूलाई उहाँहरूले पर्यवेक्षकको आँखाबाट पनि हेरिरहनुभएको छ । त्यसैले विगतदेखिकै परम्परालाई निरन्तरता दिएर हामीले आज यो कार्यक्रम गरेका हौँ । सामान्यतयाः मतदानको दिनभन्दा हप्ता–दश दिन अगाडि यो सम्पन्न गर्ने गरिन्छ । त्यही अनुसार आज हामीले नेपालमा दूतावास भएका सबै कुटनीतिक निकाय, संयुक्त राष्ट्रसंघीय निकायहरू र हाम्रा विकास साझेदारहरूलाई निर्वाचनको बारेमा तथ्य र तथ्याङ्क (फ्याक्ट एण्ड फिगर), अहिलेसम्मका कामहरू, अब के हुँदैछ र उहाँहरूले निर्वाचनको पर्यवेक्षण गर्दा ध्यान दिनुपर्ने कुराहरू के–के हुन् भन्नेबारे जानकारी गराएका छौँ ।’

उहाँले सवारी साधनको प्रयोग, आवागमन (मुभमेण्ट) र परिचयपत्रको व्यवस्थाबारे पनि कुटनीतिक समुदायलाई स्पष्ट पारिएको बताउँदै यसले नेपालको निर्वाचनका बारेमा अन्तर्राष्ट्रिय रूपमा एउटै बुझाइ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आयोगले मतदानको दिन कुटनीतिक नियोगलाई अवलोकनको लागि अवसर दिने भएको छ । निर्वाचन आयोगले निर्धारण गरेको प्रोटोकल (मर्यादा) पालना गरेर कुटनीतिक नियोगका प्रमुख वा प्रतिनिधिले चाहेको स्थानमा गएर अवलोकन गर्नसक्ने प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।


प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?