काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन संविधानलाई सही मार्गमा राख्नका लागि अनिवार्य शर्त भएको बताउनुभएको छ ।
बिहीवार सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चुनाव कुनैपनि दलको योजनाअनुसार नभई वर्तमान परिस्थितिको बाध्यता भएको स्पष्ट पार्नुभयो । उहाँले संविधानलाई लयमा फर्काउन निर्वाचन अपरिहार्य रहेको दोहो¥याउँदै परिणामको चिन्ता नगरी चुनावलाई सफल बनाउन पार्टी लागिपरेको पनि बताउनु भयो । उहाँले केही तत्वहरुले निर्वाचनका विषयमा विभिन्न संशय सिर्जना गर्न खोजेको आरोप पनि लगाउनु भयो । निर्वाचनका बारेमा सिर्जना गरिएका सबै भ्रमहरु चिर्दै तोकिएकै समयमा मतदान सम्पन्न गराउन सरकारलाई पूर्ण साथ दिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले फागुन २१ को निर्वाचनलाई भदौ २३ र २४ का घटनासँग जोड्दै ती घटनाकै परिणामस्वरूप वर्तमान अवस्था सिर्जना भएको दाबी गर्नुभयो । अगामी वर्षहरुमा गत भदौको जस्तो आन्दोलन नहोस् भन्ने योजनासहति काँग्रेस जनतासामु गएको जिकिर गर्दै उहाँले अब कुनैपनि प्रकारको आन्दोलन र विध्वंश हुन नदिने प्रतिज्ञा दोहो¥याउनुभयो ।
उहाँले भन्नुभयो, ‘चुनाव आउन अब केही दिन मात्र बाँकी छन् । यो चुनाव यसरी आउँछ भन्ने हामी कसैले पनि सोचेका थिएनौँ । यो हाम्रो योजनाको चुनाव पनि होइन । यो चुनाव हाम्रो बाध्यता हो । तर यो चुनाव अहिले हाम्रो संविधानलाई ट्र्याकमा राख्नका निम्ति अनिवार्य सर्त पनि हो । योभन्दा अर्को विकल्प थिएन र छैन । त्यसकारण चुनाव घोषणा भएको दिनदेखि नै चुनावको परिणामको चिन्ता नगरिकन चुनावलाई सफल बनाउनको लागि नेपाली काँग्रेस पार्टीले आफ्नो भूमिका निर्वाह गरेको छ । नेपाली काँग्रेसको एउटा प्रतिवद्धता छ, चुनावका बारेमा यताउता र केही संशयहरु सिर्जना गर्न खोजिएको छ । ति तमाम संशयहरुलाई चिर्दै समयमा निर्वाचन गराउने कुराका सन्दर्भमा यो सरकारलाई पनि सम्पूर्ण रुपमा साथ दिँदै संविधानलाई लयमा ल्याउने प्रतिवद्धताबाट नेपाली काँग्रेस एक इन्च पनि तलमाथि गर्दैन । फागुन २१ को चुनावको सन्दर्भ हामीले भाद्र २३ र २४ लाई बिर्सिएर हुदैन । त्यो २३ र २४ भदौको घटनाले नै हामीलाई २१ फागुनको चुनावमा पुर्याएको हो ।’
उहाँले नेपाली काँग्रेसले जेन—जी आन्दोलनको अपनत्व लिइसकेको समेत जिकिर गर्नुभयो ।
प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहीबार