काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं रुकुम पश्चिमका उम्मेदवार जनार्दन शर्माले रुकुमको समृद्धिका लागि ‘नयाँ सपना’ पूरा गर्न आफू तयार रहेको बताउनुभएको छ ।
चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले विगतमा अधिकारका लागि लडिएको र अबको चरण पूर्ण रूपमा विकास र समृद्धिको हुने बताउनुभएको हो । उहाँले विगतमा ५० रुपैयाँ तिरेर फोन चार्ज गर्नुपर्ने अवस्थाबाट रुकुम अहिलेको सहज अवस्थामा आइपुगेको स्मरण गराउनु भयो । शर्माले रुकुममै ३ सय शैय्याको सुविधासम्पन्न अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने आफ्नो मुख्य योजना रहेको बताउनु भयो । यस परियोजनाले रुकुम मात्र नभई छिमेकी जिल्लाहरू जाजरकोट, सल्यान, रोल्पा र पूर्वी सुर्खेतका जनतालाई समेत लाभ पु¥याउने उहाँको दाबी छ । यसका लागि मध्यपश्चिम विश्वविद्यालयसँग समन्वय भइरहेको समेत उहाँले जानकारी दिनुभयो । युवाहरूको रुचिलाई ध्यानमा राख्दै क्रिकेट लगायतका खेल मैदान निर्माण गर्ने र खेलकुदलाई व्यवसायका रूपमा अघि बढाउने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो । उहाँले एक घर एक धाराको अभियानलाई पूर्णता दिने र सुशासनयुक्त समाज निर्माण गर्ने कुरामा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘केही सपनाहरु हामीले हिजो देख्याँै र ती आज आइपुग्दा एक हदसम्म पूरा भएका छन् । र आज फेरि हामीले रुकुमको नयाँ सपना छ हामीसँग, रुकुमको नयाँ सपना छ । त्यो सपनालाई पूरा गर्ने अभिभारा हामी सबैले फेरि एकसाथ भएर अगाडि बढ्नुपर्नेछ । पहिलो कुरा जब ६४ मा २०६३–६४ देखि मैले संसदमा रुकुमको नेतृत्व गर्दै आइरहेको छु । त्योभन्दा अघिल्लो फेज भनेको अधिकारको लागि लड्ने फेज थियो । एउटा हाम्रा समानताका लागि, अधिकारका लागि लड्ने, उत्पीडनका विरुद्ध लड्ने फेज थियो भने पछिल्लो अवधि भनेको समृद्धिका लागि, विकासका लागि, सुखका लागि, सुविधाका लागि हामीले संघर्ष ग¥यौं । ६४ देखि यता आइपुग्दा ६४ मा मैले सबैको अगाडि गरेका प्रतिवद्धताहरु थिए । ती के थिए भने अब हामी सबै हरेक गाउँहरुमा सडक सञ्जाल पु¥याउनु पर्छ । हामीले भारी बोक्ने डोको बोक्ने कुराको अब अन्त्य गर्नुपर्छ र यातायातको सुविधा र पहुँच पु¥याउनु पर्छ भनेर मैले भनेको थिएँ । अब अध्यारोमा बस्ने कुराको पनि अन्त्य गरेर सबैतिर उज्यालो बनाउनुपर्छ भनेर कुरा राखेको थिएँ । अब गाग्रीमा खोलामा गएर मूलमा गएर पानी बोक्ने अवस्थाबाट अन्त्य गरेर अब घरभित्रै धारा आउने अवस्था बनाउनुपर्छ र हाम्रा सामान्य स्वास्थ्य उपचारहरुका हाम्रा टोलटोल र गाउँ वडाभित्र हाम्रा उपचार केन्द्रहरु हुनुपर्छ । हाम्रा अस्पतालहरु अलि जिल्लाहरुमा पनि ठूलो बन्नुपर्छ । जिल्लाभित्रै सकभर सबै उपचार हुने व्यवस्था गर्नुपर्छ आदि भनेर मैले प्रश्तावित गरेको थिएँ । त्यति मात्र होइन, आज हरेक क्षेत्रलाई मद्दत पु¥याउनका लागि ५० रुपैयाँ तिरेर फोन चार्ज गर्ने गरेको मध्ये तपाईहरु यही हुनुहुन्छ होल ा। त्यो अवस्थाबाट हामी यो अवस्थामा आइपुगेका छौँ । त्यसैगरी दोस्रो कुरा हाम्रो स्वास्थ्य क्षेत्रमा वडा गाउँघर क्लिनिकदेखि वडाको स्वास्थ्य चौकीदेखि जिल्ला अस्पतालहरु, पालिका अस्पतालहरु हुँदै क्षेत्रीय खालको अस्पताल जुम्ला, सुर्खेत र चौरजहारीलाई एउटा केन्द्र मानेर त्यो खालको अस्पताल आज सञ्चालन भइरहेका छन् । त्यो पर्याप्त छैन । त्यसलाई अझ एउटा ठूलो ३०० बेडको अस्पतालमा पु¥याएर हामीले सबै उपचार जिल्लामै गराउनुपर्ने गरी त्यो कुरा अगाडि बढेको छ । मेडिकल कलेज बनाउने गरी । त्यस क्षेत्रबाट पनि एउटा उपलब्धि हासिल हामी गर्दैछौँ । यी अब खानेपानीको एक घर एक धारा भन्ने हामीले जुन नारा दिएका थियौँ, त्यो नारा अन्तर्गत कामहरु अगाडि बढेका छन् ।’
मतदाताहरूसँग मत माग्दै शर्माले आफूलाई जनताको ‘कामदार’ र जनतालाई ‘मालिक’ को संज्ञा दिनुभयो ।
प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहीबार