काठमाडौँ । ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै ज्ञानेन्द्र शाहले देशको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनले खराब पक्ष बोकेको व्यवस्था फ्याँक्नुपर्ने र राष्ट्रिय समस्या समाधान नगरी चुनावमा जानु उपयुक्त नहुने धारणा राखेका ।
मुलुक ‘अस्वाभाविक छटपटी’को भुमरीमा परेको उल्लेख गर्दै शाहले कुनै पनि व्यवस्थाका राम्रा पक्ष लिन र खराब पक्ष त्याग्नुपर्ने बताए। अहिले चुनावभन्दा पहिले संकट समाधान, राष्ट्रिय सहमति र समेट्ने समझदारी आवश्यक रहेको उनको जोड दिएकाछन् ।
राजनीतिक नेतृत्वमाथि कडा प्रहार गर्दै उनले ‘आलोपालो र भागबण्डा’को सोचले देश नबन्ने, अधिकार मात्र खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाएको टिप्पणी गरे। गरिबी र अस्थिरतालाई नेपालको मुख्य शत्रु ठहर गर्दै आपसी वैरभाव अन्त्य गर्न आह्वान गरेका छन्।
प्रजातन्त्र दिवसको सन्दर्भमा उनले राजा त्रिभुवन र सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विश्वसामु नेपालीको शिर उच्च हुने व्यवस्थाको वकालत गरेका छन्।
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार