एजेन्सी । सिरियाली सेनाले उत्तरी श्हर अलेप्पोका शेख मकसुद र अशरफिया छिमेकहरूलाई बन्द सैन्य क्षेत्र घोषणा गरेको छ । त्यहाँ पूर्ण कफ्र्यु लागू गरेको छ ।
सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) सँगको लडाइँ चर्किएपछि एक आधिकारिक विज्ञप्ति मार्फत यो निर्णय सार्वजनिक गरिएको हो । सिरियाली अरब सेनाको अपरेशन कमाण्डले ती दुई क्षेत्रमा रहेका सबै एसडीएफ स्थानहरूलाई वैध सैन्य निशाना मानिने बताएको छ । सेनाले यसलाई ठूलो तनाव र बारम्बार हुने आक्रमणहरूको परिणाम भनेको छ । जसका कारण सर्वसाधारणको ज्यान गएको दाबी गरिएको छ ।
सेनाले स्थानीय बासिन्दाहरूलाई आफ्नो सुरक्षाका लागि एसडीएफका ठेगानाहरूबाट टाढा रहन आग्रह गरेको छ । सेनाले नागरिकहरूको रक्षा गर्न र सैन्य अपरेसनलाई सहज बनाउन यस्तो कदम चालिएको बताएको छ । प्रभावित क्षेत्रबाट बाहिर निस्कन चाहने नागरिकहरूका लागि सेनाले दुईवटा मानवीय कोरिडोरहरू खोलेको घोषणा गरेको थियो । अलेप्पोमा पछिल्ला केही दिनदेखि ड्रोन आक्रमण, गोलाबारी र सरकारी बल तथा एसडीएफ संवद्ध एकाइहरूबीच गोली हानाहान भइरहेको छ । राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार यी झडपहरूमा सर्वसाधारण र सुरक्षाकर्मीहरूको मृत्यु र घाइते भएका छन् ।
सिरियाली अधिकारीहरूले एसडीएफलाई आवासीय क्षेत्र र सुरक्षा पोष्टहरूलाई निशाना बनाएको आरोप लगाएका छन् भने एसडीएफले ती आरोपहरू अस्वीकार गर्दै सरकारी पक्षबाट अन्धाधुन्ध गोलाबारी भएको दाबी गरेको छ । यो लडाइँले अलेप्पोमा पहिलेदेखि नै कमजोर रहेको सुरक्षा व्यवस्थालाई थप तनावपूर्ण बनाएको छ ।
सिरियाली सरकार र एसडीएफ बीच मार्च २०२५ मा हुने भनिएको राजनीतिक सम्झौताका लागि भइरहेको वार्ता रोकिएको बेला यी झडपहरू भएका हुन् ।
प्रकाशित मिति: २४ पुष २०८२, बिहीबार