काठमाडौँ । अन्तरिम सरकारका उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिनुभएको छ ।
बुधवार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री घिसिङले पदबाट राजीनामा दिनुभएको हो । अन्तरिम सरकारमा उहाँले उर्जा मन्त्रालयका साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा रहेर राजनीतिक दल खोलेको, राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति भइसकेपछि पनि पार्टीको सदस्य नरहेको भन्दै सार्वजनिक अभव्यक्ति दिएसगै घिसिङको चौतर्फी विरोध भएको थियो ।
मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा घिसिङले आफू कुनै पार्टीको सदस्य नरहेको बताउनुभएको थियो । त्यससँगै मन्त्री घिसिङको विरोध हुँदै आएको छ । यसअघि पनि मन्त्री घिसिङले उज्यालो नेपाल पार्टी खोल्नुभएको थियो । अन्तरिम नागरिक सरकारमा दलको मन्त्री भन्दै उहाँको विरोध भएको थियो । साथै भारतसँगको विद्युत सम्झौतामा पनि प्रश्न उठेको थियो । अहिले मन्त्री घिसिङ रास्वपाको उपसभापति हुनुहुन्छ ।

प्रकाशित मिति: २३ पुष २०८२, बुधबार