काठमाडौँ। नेकपा (एमाले) ले आगामी २१ फागुनमा हुने भनिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्दसूची पारित गरेको छ । आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
पार्टीका उपमहासचिव लेखराज भट्टले दिएको जानकारी अनुसार, बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारहरूको नामावली पेश गरेका थिए । बैठकले अध्यक्षद्वारा प्रस्तुत नामावली अनुमोदन गर्दै सोमबार निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ ।
बैठकमा अध्यक्ष ओलीले संसद पुनःस्थापनाको विषयमा समेत जोड दिएका थिए । एमाले निर्वाचनबाट नभाग्ने तर निर्वाचनका लागि उपयुक्त वातावरण बनिनसकेको कुरा अध्यक्षले बैठकमा राख्नुभएको उपमहासचिव भट्टले बताएका छन् ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “समानुपातिक उम्मेदवारको बन्दसूची पारित भएको छ । अध्यक्षज्यूले जिल्लाबाट प्राप्त नामहरू पेश गर्नुभयो र त्यसलाई हामीले पास गरेका छौँ । केही हेरफेर गर्नुपर्ने भएमा मिलाएर भोलि नै आयोगमा बुझाउने निर्णय भएको छ ।”
साथै, उपमहासचिव भट्टले अध्यक्ष ओली र प्रधानमन्त्रीबीचको भेटका क्रममा निर्वाचनको वातावरणबारे अध्यक्षले राखेको जिज्ञासालाई तोडमोड गरी बाहिर प्रचार गरिएको भन्दै आपत्ति समेत जनाएका छन् ।
प्रकाशित मिति: १३ पुष २०८२, आईतवार