Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१९ चैत्र २०८२, बिहीबार
१९ चैत्र २०८२, बिहीबार

रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई


योगेश भट्टराई

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र साहबीच भएको एकतालाई अन्यथा लिन नहुने बताएका छन् ।

उनले एजेण्डा मिल्दा एकीकरण हुने र नमिल्दा छुट्टिने कुरालाई समान्य रुपमा लिनुपर्ने बताउदै लोकतान्त्रिक प्रक्रियामा राजनीतिक दलहरु मिल्ने र विभाजन हुने कुरालाई अनौठो मान्न नहुने उनको भनाई छ । उनले आगामी निर्वाचनलाई लक्षित गरेर रास्वपा र प्रमुख साहले पनि एकताको घोषणा गरेको उल्लेख गरेका छन् । उनले नेपालको लोकतान्त्रिक प्रक्रियालाई पारदर्शी र स्वच्छ बनाउन, खण्डित भएको संवैधानिक प्रक्रियालाई सही बाटोमा ल्याउन र स्थायी शान्तिमार्फत दिगो विकासको योजनालाई अगाडी बढाउन राजनीतिक प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्नेमा जोड दिएका छन् । त्यसको लागि नेकपा एमाले तयार रहेको उनको भनाई छ । उनले पवित्र उद्देश्यले भदौमा भएको जेन–जी आन्दोलनलाई रास्वपा र बालेन्द्र साहले सत्तास्वार्थको लागि हाईज्याक गर्न खोजेको भन्दै जेन–जी अगुवाहरुलाई सजक रहन पनि आग्रह गरेका छन् ।

उनले भने, ‘लोकतान्त्रिक परिपाटीमा कुनैपनि व्यक्ति वा समूह एकआपसमा मिल्नु र विषय नमिल्दा अलग अलग ढंगले विभाजित हुने कुरालाई अनौठो मान्न सकिदैन । त्यही क्रममा आगामी निर्वाचनलाई ध्यान दिँदै केही राजनीतिक व्यक्ति र शक्तिहरु एकआपसमा मिलेको घोषणा गर्नुभएको छ । त्यसलाई मैले अन्यथा रुपमा लिन चाहन्न । मुख्य कुरा के हो भने नेपालको लोकतान्त्रिक प्रक्रियालाई कसरी पारदर्शी र स्वच्छ बनाउने, हाम्रो खण्डित भएको संवैधानिक प्रक्रियालाई कसरी पुनरलिकमा ल्याउने र नेपालमा स्थायी शान्तिमार्फत दिगो विकासको योजनालाई कसरी अगाडी बढाउने ? यो आजको दिनमा सबैभन्दा महत्वपूर्ण कुरा हो । यसका निम्ति राजनीतिक प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्ने हो । नेकपा एमाले कुनैपनि चुनौतीसँग सामाना गर्न तयार छ । जेन–जी आन्दोलन जुन भदौ २३ गते भएको थियो । त्यो हाम्रो नवयुवा पुस्ताहरुको एउटा आन्दोलन थियो, त्यो जागरण थियो । त्यो जागरण सुशासनको निम्ति थियो, भ्रष्टाचार अन्त्य गर्नको लागि थियो, सामाजिक सञ्जाललाई खोल्नपर्ने भन्ने कुराहरुसँग थियो । यी पवित्र मागहरु हुन् । पवित्र मागहरुसहित पवित्र आत्माहरु त्यो आन्दोनलमा थिए । ती पवित्र माग र पवित्र आत्मालाई कुनैपनि गलत राजनीतिक उदेश्य र व्यक्तिहरुको स्वार्थपूर्ति गर्नको निम्ति प्रयोग नहोस् भन्ने कुरामा हामी सबै सचेत हुनुपर्छ । जेन–जी आन्दोलनका अगुवाहरु पनि यसमा सचेत होउन् । आफ्नो आन्दोलन हाइज्याक गरेर राजनीतिक स्वार्थसत्ताको रोटी सेक्न र व्यक्तिगत स्वार्थको रोटी सेक्न आफ्ना आन्दोलन र एजेण्डा हाईज्याक भए की भन्नेकुरामा जेन–जी अगुवाहरुले पनि ध्यान दिउन् ।’

उपमहासचिव भट्टराईले एमाले आगामी निर्वाचनमा बहुमत ल्याउनेगरी तयारीमा लागेको पनि बताएका छन् । उनले हाल पार्टीमाथी चौतर्फी आक्रमण भएको उल्लेख गर्दै आन्तरिक पार्टी एकतलाई बलियो बनाउनेगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह समेत गरेका छन् । उनले चुनावको तयारीको लागि पार्टीभित्रका आन्तरिक मतभेदहरुलाई थाँती राखेर सबै एकजुट हुन आवश्यक रहेको बताएका छन् ।


प्रकाशित मिति: १३ पुष २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?