Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

असन्तुष्टि थाँती राखौँ, चुनावमा एकढिक्का हौँ : नेता सिंह


२८ चैत ,दमौली । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उपनिर्वाचन नजिकै आइसकेकाले असन्तुष्टि थाँती राखेर एकढिक्का हुनुपर्नेमा जोड दिएका छन्‌ ।

आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट तनहुँ निर्वाचन क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईको चुनाव प्रचारका लागि आइपुगेका सिंहले आज डुम्रेमा आयोजित कार्यकर्ता भेटघाटमा हरेक पार्टीमा असन्तुष्टि भए पनि त्यसलाई अहिले थाँती राखेर चुनावमा एकढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको बताए ।

उनले भने, “हरेक पार्टीमा असन्तुष्टि होला, चुनाव मुखैमा आइसक्यो । अरु कुरालाई पछि सम्बोधन गरौँला । गठबन्धनका नेताहरू इमान्दार भएर गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नुपर्छ ।”

नेता सिंहले गठबन्धनका उम्मेदवार जिताउन नसकिए सन्देश राम्रो नजाने बताए । “गठबन्धन गरेर हामी चुनावमा गएका छौँ, अनि गठबन्धनका उम्मेदवारले नजिते नराम्रो सन्देश जान्छ”, उनले भने ।

पुराना दलले केही गर्न सकेन भनेर जन्मिएका नयाँ दलले पनि केही गर्न नसकेको सिंहको भनाइ थियो । “बोल्नका लागि नारा दिन सजिलो छ, काम गरेर देखाउन गाह्रो छ, नयाँ दलले पनि केही गर्न नसकेको त देखिहालियो नि”, उनले भने ।

नेता सिंहले वर्तमान सरकार विकास र समृद्धिका लागि प्रतिबद्ध रहेको बताए । संविधानको रक्षा गर्दै लोकतन्त्रको संस्थागत गर्नका लागि गठबन्धन बनेको उनको भनाइ थियो । उम्मेदवार भट्टराईले चुनाव जितेपछि गठबन्धन सरकारमा प्रतिनिधित्व गर्नसक्ने नेता सिंहले बताए ।

“अहिले गठबन्धनको सरकार छ, उनले जितेर आएपछि सरकारमा प्रतिनिधित्व नगर्ला भन्न सकिँदैन, तनहुँ जिल्लाले सधैँ सरकारमा जिम्मेवारी पाइरहेको छ”, उनले भने । भाषण दिने नेता चाहिएको हो की काम गर्ने नेता चाहिएको हो जनताले मूल्याङ्कन गर्नुपर्नेमा उनको जोड थियो ।

“गोविन्दजी त यहाँका जनताको हरेक सुखदुःखमा काम गरेको मान्छे हो, पाँच वर्षमा आएर भाषण गर्ने नेता चाहियो की काम गर्ने नेता चाहियो त्यसको मूल्याङ्कन हुनुपर्छ”, नेता सिंहले भने।


प्रकाशित मिति: २८ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?