काठमाडौँ। नव नियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशमा सुशासन स्थापनासँगै आसन्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउने सरकारको जिम्मेवारी पूरा गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
सिंहदरबारमा बिहीवार आयोजित कार्यक्रममा दज्र्यानी चिन्ह ग्रहण गरेपछि आफ्ना धारणा सार्वजनिक गर्दै आईजीपी कार्कीले निर्वाचनको सफल व्यवस्थापन आफ्नो प्रमुख प्राथमिकता हुने बताए। उनले असाधारण परिस्थितिमा पाएको जिम्मेवारीलाई गम्भीरतापूर्वक लिँदै नेपाल सरकार, गृह मन्त्रालय, सुरक्षा निकाय, गैरसरकारी संस्था र समुदायबीच सशक्त समन्वय र सहकार्य गर्दै संगठनमा सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गर्ने प्रतिवद्धता जनाए।
आईजीपी कार्कीका अनुसार सुशासन प्रवर्द्धन, जनअपेक्षाअनुसार सेवा प्रवाह र प्रहरीको मनोबल उच्च राख्नु अहिलेको मूल चुनौती हो। उनले लागूपदार्थ दुरुपयोग, आत्महत्याको बढ्दो दर र सडक दुर्घटनाजस्ता समस्यालाई गम्भीर रूपमा लिँदै यी चुनौती समाधानका लागि संगठनलाई भौतिक रूपमा बलियो र मनोबलका हिसाबले सक्षम बनाउनु जरुरी रहेको बताए।
उनका अनुसार एकातिर प्रहरी संरचना र भौतिक पूर्वाधारको पुनर्स्थापना गर्दै आसन्न निर्वाचनका लागि आवश्यक हतियार, सवारीसाधन र स्रोत सुनिश्चित गर्नुपर्नेछ भने अर्कातिर प्रहरी कर्मचारीको मनोबल निरन्तर उच्च राख्न पनि उत्तिकै ध्यान दिनु आवश्यक छ।
उनले भने,‘देशमा सुशासन कायम गर्ने र निर्वाचन सम्पन्न गराउने नेपाल सरकारको अभिभारा, विभिन्न आयामका सुरक्षा चुनौतीहरु उठाउँदै गरेका प्रहरी संरचना र मनेबलको सन्दर्भमा प्राप्त यो जिम्मेवारी असाधारण गरेकोप्रति म जानकार र सजग रहेको छु । असाधारण परिस्थितिमा प्राप्त यस जिम्मेवारी नेपाल सरकार, गृहमन्त्रालय, सुरक्षा निकाय, गैरकारकारी संघसंस्था एवं अन्य समुदायसँग प्रभावकारी समन्वय र सहकार्य गर्दे संगठनमा सुदृढ नेतृत्व र सामुहिकता प्रदर्शन गर्दे, प्रहरी कर्मचारीको मनोबल बढाउँदै नेपाल सरकार र आम जनताको चाहनाअनुरुप कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । नेपाल प्रहरीलाई भौतिक रुपमा सुदृढ र उच्च मनोबल बनाउनुपनेछ । एकातिर भौतिक संरचनाहरुको पुनस्र्थापना र आसन्न निर्वाचनलाई दृष्टिगत गरी हातहतियार, सवारीसाधन लगायतका आवश्यक प्रवन्धहरुको सुनिश्चितता गर्नुपर्नेछ भने अर्कोतर्फ प्रहरीहरुको मनोवललाई पनि जगाईराख्ने र वृद्धि गर्नुपर्ने उत्तिकै टड्कारो आवश्यकता छ । अपराध र सुरक्षा चुनौतीहरुका विषयमा पारस्पारिक प्रवित्तिहरुमा भएको परिवर्तन, स्ूचना प्रविधिमा भएको दु्रत विकास र सुशासनको जनअपेक्षा अनुरुपको उच्च मनोबलिकताको प्रहरी चरित्र र क्षमता निर्माण गरि प्रभावकारी सेवा प्रदान गर्नु हाम्रो साझा आवश्यकता र दायित्व हो ।’
आईजीपी कार्कीले सूचना प्रविधिको तीव्र विकास र अपराधका बदलिंदो प्रवृत्तिहरूसँग सँगसँगै अघि बढ्दै, प्रहरी संगठनलाई दक्ष, अनुशासित र जनमुखी बनाउनु समयको माग भएको उल्लेख गरे। उनले निष्कर्षमा जोड्दै भने, ‘उच्च मनोबल, प्राविधिक दक्षता र सामूहिक प्रतिबद्धताबाट मात्रै हामीले जनताको अपेक्षा अनुसारको सेवा प्रवाह गर्न सक्छौं।’
प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहीबार