Trending
>>   कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा छठ पर्वको शुभकामना >>   कसरी भयो छठ मनाउने प्रचलनको थालनी? >>   प्रधानमन्त्री ओलीद्वारा छठ पर्वको शुभकामना >>   छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न प्रेरणा मिलोस्ः राष्ट्रपति पौडेल >>   आजको मौसम : यी तीन प्रदेशमा वर्षाको सम्भावना >>   आज मिति २०८१ साल कार्तिक २२ गते बिहिबार, हेर्नुहोस आजको राशिफल >>   आयोजनाहरुको तयारी फास्ट ट्रयाकमा गरिने >>   राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई >>   डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी >>   आजको मौसम : गण्डकी र कोशीका केहि स्थानमा बर्षाको सम्भावना
Logo
२२ कार्तिक २०८१, बिहीबार
२२ कार्तिक २०८१, बिहीबार

उपचार खर्च तिर्न नसक्दा छोराछोरीसँगै मन्तोरिया अस्पतालमै बन्धक


२८ चैत्र, धनुषा । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका–९ की मन्तोरिया राय उपचारवापतको खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक छन् । गत माघ १२ गते उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । गम्भीर घाइते अवस्थामा मन्तोरियालाई उपचारका लागि जनकपुरधाम मुरलीचोकस्थित न्यूरो अस्पताल गरिएको थियो ।

उपचार भएपछि उनलाई अस्पतालले गत फागुन २० गते घर फर्काउने निर्णय गरेको थियो । तर अस्पतालमा उपचारवापतको खर्च तिर्न नसक्दा मन्तोरिया घर जान सकेका छैन । उनी अस्पतामै तीन छोराछोरीसहित बन्धक छन् । उनले अस्पताललाई उपचारवापतको रु छ लाख ६९ हजार तिर्न बाँकी छ । सो रकम तिर्न नसक्दा मन्तोरिया अस्पतालबाट घर फर्कन नपाउएको हो । उनीसँगै वृद्ध ससुरापनि अस्पतालमै रहेका छन् ।

“हमरा सभके खाइला नै पुगै है, अतेक रुपैयाँ तिरक घर केना जेबै, हमर बालबच्चाके केना पलेतै हौँ (हामीलाई खानै पुग्दैन । यति पैसा कहाँबाट तिरेर घर जानु, मेरो बालबच्चाको लालनपालन कसरी हुन्छ ?”, मन्तोरिया रायले रुँदै भने ।

कान्छो छोराको बालपोषण भत्ता लिन गत माघ १२ गते मन्तोरिया सबैला बजारको एक बैंकमा खाता खोलेको थियो । बैंकमा खाता खोलेर पैदल फर्किरहेका बेला सत्तोखर गोविन्दपुर सडकखण्डमा बा६१प ६६३३ नंको मोटरसाइकलले उनलाई ठक्कर दियो । प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलको ठक्करबाट सडकमा लडेकी मन्तोरियालाई मोटरसाइकलले ४०–५० मिटर परसम्म घिसारेको थियो । यसरी सडकमा घिसारिएपछि उनको शरिरको विभिन्न भागमा चोट लाग्यो ।

मोटरसाइकल धनुषाकै सहिदनगर नगरपालिका–१ बेमर्खी टोलका २५ वर्षीय दीपककुमार रायले चलाएका थिए । सोही ठाउँका ३५ वर्षीय गजेन्द्र यादव पछाडि सवार थिए । चालक राय तत्कालै समातिए । पछाडि बसेका यादव भने अहिलेसम्म फरार छन् । चालक रायको घरपरिवारको अवस्था दयनीय छ । उनी मन्तोरियालाई भेट्न अस्पतालसमेत आएनन् । दुर्घटनापश्चात मन्तोरियाका ससुरा रामप्रसादले प्रहरीमा मोटरसाइकलका चालक राय र पछाडि सवार यादवमाथि किटानी जाहेरी दर्ता गराएका थिए ।

अङ्गभङ्ग मुद्दामा चालक राय हाल जिल्ला अदालत धनुषाको आदेशमा सिन्धुली कारागारको थुनामा छन् । मन्तोरियाको परिवारले जसोतसो ऋण काढेर र समाजबाट चन्दा उठाएर पाएको झन्डै रु १० लाख अस्पताललाई तिरेको छ । तर बाँकी पैसो तिर्न उहाँसित कुनै उपाय छैन । मन्तोरिया आफूलाई घर फर्किने वातावरण बनाइदिन हारगुहार गर्दै आएका छन् ।

सुरुमा दुर्घटनापछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको प्रादेशिक अस्पतालले यसरी नै गम्भीर प्रकृतिका बिरामी घाइतेलाई उपचार नगरी निजीमा सिफारिस गर्ने गरेका छन् ।

अहिले ३० वर्षीया मन्तोरियासँगै दुई छोरा र एक छोरी पनि आमासँगै घर जाने दिनको प्रतीक्षामा छन् । मन्तोरियाको सम्पत्तिका नाममा केवल दुई धुर घडेरीमा छाप्रो छ । उनीसँगै आठ वर्षीया छोरी वर्षा, पाँच वर्षीय छोरा महेश्वर, तीन वर्षीय उमेश र ७१ वर्षीय ससुरा रामप्रसाद अस्पतालमामै बस्न बाध्य छन् । रामप्रसादले जसोतसो बुहारीको हेरचाह गरिहेका छन्, तीन नाति–नातिना सम्हालेका छन् ।

मन्तोरियाका पति रामबहादुर राय वैदेशिक रोजगारीका सिलसिलामा कतारमा छन् । गत कात्तिकमा रामबहादुर कतार गएदेखि मन्तोरियाले घर सम्हाल्दै थिए तर, दुर्घटनामा परेदेखि सारा परिवार नै नराम्ररी बिथोलिएको छ । पति रामबहादुरको पनि कमाइ छैन । उनी गएको कम्पनी बन्द भएर घर फर्किने अवस्था आएको मन्तोरियाले सुनाए ।

अस्पतालका व्यवस्थापक सञ्जय मण्डलले मन्तोरिय अस्पताल भर्ना हुँदा बाँच्ने सम्भावना निकै कम भए पनि अस्पतालको समुचित रेखदेख र उपचारले उनलाई बचाएको बताए । मण्डलका अनुसार मन्तोरियाको पेटमा तीनवटा शल्यक्रिया भएको छ । केही भाग आन्द्रा काटेर हटाइएको छ । दुवै खुट्टाको घुँडादेखि पैतालाको बीचको भागको हाँड भाँच्चिएकाले शल्यक्रिया गरी दुवैमा स्टिल जडान गरिएको छ । दायाँ हात पनि भाँच्चिएको थियो ।

अस्पतालका व्यवस्थापक मण्डलले भने, “जुन अवस्थामा मन्तोरिया भर्ना भयो । बाँच्ने अवस्था न्यून थियो । तर हामीले भरपुर प्रयास गरेर सबै शल्यक्रिया सफल पा¥यौँ । दुई महिनापछि उनी अलिअलि हिँड्ने, बोल्ने अवस्थामा आएका छन्”, ठक्कर दिने र घरपरिवारले उपचार खर्च तिर्न नसक्दा उनको उपचारमा अस्पताल नराम्ररी फसेको छ ।

मन्तोरिया देवीको विषयमा थाहा पाएर सबैला नगरपालिकाका प्रमुख कारीराम यादव सोमबार अस्पताल पुगेर अवस्था बुझेका छन् । उनले दुई दिनभित्र मन्तोरियालाई अस्पतालबाट मुक्त गराएर लग्ने आश्वासन दिएका छन् ।

नगरप्रमुख यादवले भने, “यस विषयमा सबैला कार्यपालिकाको बैठक राखेर छलफल गर्छौँ, उपचार खर्चबारे के गर्न सकिन्छ उचित निर्णय गर्छौँ । यो घटनालाई गम्भीरतापूर्वक लिएका छौँ ।”

त्यसैगरी जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्रशासकीय अधिकृत किरण मिश्रको नेतृत्वमा टोली सोमबार मन्तोरिया बन्धक भएको घटनाबारे बुझ्न अस्पताल पुगेको थियो । टोलीले अस्पतालको अनुगमनसमेत गरेको छ ।


प्रकाशित मिति: २८ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?