काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ता कृषि कर्मबाट अलग हुँदा कृषि क्षेत्रमा समस्या उत्पन्न भइरहेको बताएका छन् ।
बिहीवार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालको एक महिने रक्तदान अभियानको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा पछिल्लो समय नयाँ पुस्ता कृषि कर्म नलाग्ने र विदेश पलायन हुने क्रम बढिरहेको बताए । उनले पहाडमा जमिनहरु खाली हुने, खेती नगर्ने तर युवाहरु काम भएन भनेर विदेश जाने क्रम बढेको बताए । उनीहरुलाई कृषि कर्ममा लगाउनसके धेरैले स्वदेशमै रोजगारी पाउने बताए । नेपालमा जनसंख्याको ठूलो हिस्सालाई रोजगारी प्रदान गर्नसक्ने क्षेत्र कृषि नै रहेको भन्दै यसले नेपालको ७० प्रतिशत जनतालाई कृषि कर्ममा जोड्नसक्ने बताए । कृषि निर्वाहमुखी रहेका कारण नयाँ पुस्ता कृषि कर्मसँग जोडिन नसकिरहेको बताए । नयाँ पुस्तालाई कृषिकर्मसँग कसरी जोड्ने भन्नेकुरा अबको युवा आन्दोलनको साझा विषय बन्नुपर्ने बताएका हुन् । कुनैपनि मुलुकलाई समृद्ध बनाउन कृषि महत्वपूर्ण माध्यम रहेको उल्लेख गरे । कृषिको विकासले नै समृद्धिको आधारशिला निर्माण गर्ने जिकिर गरे । औद्योगिक, पर्यटन, सामाजिक, सेवा क्षेत्रको लगायका सबै क्षेत्रको विकासका लागि कृषि क्षेत्रको रुपान्तरण आवश्यक रहेको बताए । बहुसंख्यक जनंख्या जोडिएको कृषि क्षेत्रलाई रुपान्तरण गर्न नसके नेपालको आर्थिक विकास चुनौतिपूर्ण बन्ने बताए ।
महासचिव पोखरेलले भने, ‘नेपालमा पछिल्लो समय नयाँ पुस्ता कृषि कर्मबाट अलग हुँदा एक किसिमको समस्या उत्पन्न हुन थालेको छ । खासगरी पहाडमा जमिनहरु बाँझै रहने र युवाहरु रोजगारीको लागि विदेशिनुपर्ने जुन प्रकारको अवस्था छ, त्यसलाई बदल्ने संकल्प पनि हामीले गर्न सक्नुपर्दछ । किनभने नेपालमा जनसंख्याको ठूलो हिस्सालाई रोजगारी प्रदान गर्नसक्ने क्षेत्र भनेकै कृषि क्षेत्र हो । झन्डै यसले नेपालको ७० प्रतिशत जनतालाई कृषि कर्ममा जोड्ने खालको काम गर्दै आएको थियो । हाम्रो समाजमा कृषि निर्वाहमुखी रहेका कारण नयाँ पुस्ता कृषि कर्मसँग जोडिन सकिरहेका छैनन् । अब हामीले नयाँ पुस्तालाई कृषिकर्मसँग कसरी जोड्ने भन्नेकुरा अबको युवा आन्दोलनको साझा विषय बन्नुपर्दछ । कुनैपनि मुलुकलाई समृद्ध बनाउने हो भने कृषि महत्वपूर्ण माध्यम हो । कृषिको विकासले नै समृद्धिको आधारशिला निर्माण गर्दछ । औद्योगिक, पर्यटन, सामाजिक, सेवा क्षेत्रको विकास ति सबै क्षेत्रको विकासका लागि कृषि क्षेत्रको रुपान्तरण आवश्यक छ । बहुसंख्यक जनंख्या जोडिएको कृषि क्षेत्रलाई रुपान्तरण गर्न सकिएन भने नेपालको आर्थिक विकास चुनौतिपूर्ण बन्दछ । ’
महासचिव पोखरेलले प्रविधिले जतिसुकै फड्को मारे पनि अन्नको उपलब्धता नभएसम्म मानिसको जीवन कष्टकर बन्ने बताए । मानिसको जीवन निर्वाहका लागि अन्न अनिवार्य रहेको बताए । राष्ट्र निर्माणमा युवालाई जोड्न जरुरी रहेको बताए । महासचिव पोखरेलले मधेस प्रदेश सुख्खाग्रस्त बनेको भन्दै सरकारले विभिन्न योजनासहित काम गरिरहेको बताए ।
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहीबार