काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालको सामाजिक सुरक्षा योजना अन्तर्राष्ट्रिय रुपमै गर्व गर्न लायक रहेको बताएका छन् ।
आईतवार सामाजिक सुरक्षा कोषले आयोजना गरेको ‘सामाजिक सुरक्षा कोषमा वृहत आवद्धता अभियानको लागि सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएसनबीच सम्झौतामा हस्ताक्षर कार्यक्रम’ मा मन्त्री भण्डारीले यस्तो बताएका हुन् । आफू केही दिनअघि आईएलओ (अन्तर्राष्ट्रिय श्रम संगठन) को बैठकमा सहभागी भएको जानकारी दिँदै मन्त्री भण्डारीले अन्तर्राष्ट्रिय मञ्चबाट नेपालको सामाजिक सुरक्षा योजनाप्रति प्रशंसा गरिएको सुनाए ।
मन्त्री भण्डारीले भने, ‘म भर्खर आईएलओ को जेनेभामा आईएलओको मिटिङमा थिएँ । नेपालको सामाजिक सुरक्षा प्रणाली र सामाजिक सुरक्षाकोषको लिडरसिपलाई अहिले आईएलओले रिजनल टाइपुनको रुपमा नेपालको सामाजिक सुरक्षालाई हाम्रो एशिया जिसीजी कन्ट्रीलाई नेपालको सामाजिक सुरक्षालाई रोलमोडलको रुपमा अगाडि बढाउन खोजिरहेका छन् । त्यो नेपालीले गर्व गर्ने विषय छ ।’
मन्त्री भण्डारीले हरेक नेपालीलाई अवकाशपछि पेन्सन पाउने अवस्थामा लैजान खोजेको स्पष्ट पारे । मानिसहरू अवकासपछिको जीवनको सुरक्षाका लागि सरकारी जागिर खोजिरहेको उल्लेख गर्दै श्रम बजारमा वार्षिक आउने ५ लाखमध्ये एक लाखले मात्रै सरकारी जागिर पाइरहेको उल्लेख गरे । बाँकी चार लाख मानिसहरू जो जुन क्षेत्रमा कार्यरत रहन्छन्, त्यहीँ नै सामाजिक सुरक्षामा आवद्ध गराएर सरकारी सेवाजस्तै उनीहरूको जीवन सुरक्षित बनाउन चाहेको बताए । उनले अनौपचारिक क्षेत्र, स्वरोजगारको क्षेत्र अथवा अन्य कुनै क्षेत्र भएपनि सबैलाई सामाजिक सुरक्षा कोषबाट दिनसक्ने स्थिति बनाउने पनि प्रष्ट पारे ।
मन्त्री भण्डारीले भने, ‘अहिले सरकारी जागिर खान मान्छे किन मारामार गर्छन् ? जागिर भन्ने बित्तिकै सरकारी जागिरलाई जागिर, सरकारी रोजगारीलाई रोजगारी, अन्य रोजगारी–रोजगारी नै छैन । सरकारले कति रोजगारी दिन सक्छ ? श्रम बजारमा वर्षमा पाँच लाख नेपालीहरू आउँछन् । करिव– करिव एक लाख जब हुन्छ । चार लाख त हाम्रो हरेक वर्ष त के गर्ने त्यसले ? त्यसो हुनाले उनीहरू त बेरोजगार । कस्तो बेरोजगार त भन्दा सरकारी जागिर पाएन ? किन सरकारी जागिरको लागि मरिहत्ते गर्छन् मान्छे ? एउटै कारण के भने ऊ जागिरमा छि¥यो भने उसको भविष्य बन्यो । जहाँ उसले जागिर पायो, ऊ छि¥यो । त्यसपछि ऊ रिटायर हुने बेलामा आनन्दले पेन्सन पाउँछ । ऊ ढुक्क भयो । उसको फेमली ढुक्क भयो । त्यही ग्यारेन्टी सामाजिक सुरक्षा कोषले दिने प्रयास गरेको छ । अनौपचारिक क्षेत्र होस्, स्वरोजगारको क्षेत्र होस् । अथवा रोजगारको क्षेत्र होस्, अथवा इन्डिपेन्डेण्ट क्षेत्र होस् । यो सबै क्षेत्रमा हामीले सामाजिक सुरक्षा कोषबाट दिनसक्ने स्थिति भयो भने त्यो सोसाइटी पेन्सेबल हुन्छ ।’
उनले समाजमा हेरेकले भोलि पेन्सन पाउनुपर्छ र पाउँछ भन्ने कुराको सुरुवात सामाजिक सुरक्षा प्रणालीले गरेको भन्दै त्यो उसैको योगदानबाट मात्रै सम्भव हुने उल्लेख गरे । राज्यको योगदानबाट सामाजिक सुरक्षा हुन सम्भव नरहेको मन्त्री भण्डारीको भनाई थियो । राज्यको भर पर्दा स्वास्थ्य बीमाले दुर्गती भोग्नुपरेको उदाहरण पेश गर्दै उनले व्यक्तिको आफ्नै योगदानबाट मात्रै सामाजिक सुरक्षा हुनसक्ने स्पष्ट पारे ।
प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार