
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले निजामति विधेयकको कुलिङ पिरियडबारे राष्ट्रिय सभामा नेकपा एमालेका सांसदहरुले राख्नुभएको संशोधनले गम्भीर बनाएको बताएका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रिय सभामा सांसदको आफ्नो अधिकार हुने कुरालाई नकार्न नसकिने भएपनि दलको प्रमुख सचेतकले नै कुलिङ पिरियड हटाउने भनेर संशोधन प्रश्ताव दर्ता गर्नुले गम्भीर बनाएको बताए । प्रमुख सचेतक दलको आधिकारिक व्यक्ति भएकाले यसबारे स्पष्ट पार्न जरुरी रहेको बताए ।
उनले भने, ‘यो निजामति विधेयकबारे राष्ट्रिय सभामा नेकपा एमालेको प्रमुख सचेतक सहितले जसरी संशोधन राख्नुभएको छ । त्यसले हामी सबैलाई गम्भीर बनाएको छ । राष्ट्रिय सभामा आफ्नो राइटको कुरा छ । राष्ट्रिय सभाका सांसदहरुको अधिकारको कुरालाई सम्मान गर्नुपर्छ । प्रमुख सचेतक दलको आधिकारिक व्यक्ति हो । के हो भन्नेकुरा यही हो भनेर त भन्न सकिँदैन ।’
प्रमुख सचेतक पाण्डेले भूमिसम्बन्धी विधेयक फास्ट ट्रयाकमा पास गर्नेकुरा माओवादीले स्वीकार नगर्ने बताए ।
प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार