
काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विवाहको उमेरका कारण दुई परिवारका अभिभावकबीच हुने असमझदारीले भोग्नुपरेको सजाय कम गर्नेगरी सरकारले व्यवस्था गरिरहेको बताएका छन् ।
प्रतिनिधि सभाअन्तगर्तको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विवाहको उमेर घटाउने नभइ विवाहको उमेरको कारणले १८ र २० वर्षको उमेरको युवा युवतीको बीचमा दुई परिवारका अभिभावकबीच हुने असमझदारीले भोग्नुपरिरहेको सजाय कम गर्नेगरी सरकारले व्यवस्था गर्न लागेको बताए । उनले नेपालको संविधान दक्षिण एशियाकै उत्कृष्ट रहेको दाबी गरे ।
मन्त्री चौरसियाले भने, ‘विवाहको उमेर घटाउने होइन, विवाहको उमेरको कारणले १८ र २० वर्षको उमेरको युवा युवतीको बीचमा दुई गार्जियनको बीचमा भएको असहमतिको कारण कारबाही भोग्नुपरेको अवस्थालाई सजायलाई न्युन गर्ने व्यवस्था कानून मन्त्रालयले गर्दैछ । नेपालको संविधान दक्षिण एशियाकै उत्कृष्ट छ । जहाँ संविधानमै ३३ प्रतिशत महिलाको अधिकार सुनिश्चित गरिएको छ । सकारात्मक कामलाई सकारात्मक रुपमा लिनुपर्छ । अपराध दुनियाँको सबै मुलुकमा हुन्छ । तर अपराधीलाई कारबाही सरकारले गरेको छ की छैन त्यो महत्वपूर्ण कुरा हो ।’
मन्त्री चौरसियाले मानव अधिकार आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्नेकुरामा सरकारले प्राथमिकता दिइरहेको बताए ।
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार