Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

अकला गुफाको संरक्षणमा चासो


२५ चैत्र, नवलपुर । जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्नसक्ने अकला गुफाको संरक्षणमा चासो दिइएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रअन्तर्गत पर्ने बौदीकाली गाउँपालिका–२ डेढगाउँमा रहेको अकला गुफाको संरक्षणमा अकलादेवी गुफा तथा मन्दिर व्यवस्थापन समितिले हालैमात्र पहुँचमार्गका रुपमा बाटो निर्माण गरेको छ ।

पर्यटनको सम्भावना बोकेको अकला गुफाको संरक्षण नहुँदा यसै ओझेलमा परेको थियो । हाल समितिको पहलमा अकला मन्दिरदेखि अकला गुफासम्म जाने करिब एक सय ५० मिटर लम्बाइको बाटो निर्माण गरिएको समितिका अध्यक्ष टङ्क पुलामीले बताए । गुफासम्म पुग्ने बाटो नै हराउँदै जाँदा मन्दिरमा आएका पर्यटक सहजरुपमा गुफासम्म जान सकिरहेका थिएनन् । यसले गर्दा अकला गुफा ओझेलमा पर्दै आएकोमा अहिले गाउँपालिकाको सहयोगमा बाटो निर्माणको काम गरिएको अध्यक्ष पुलामीले बताए ।

पर्यटनको सम्भावना बोकेको अकला गुफा करिब एक सय मिटर लम्बाइको छ । यस गुफामा सहजैरुपमा वारपार गर्न सकिन्छ । गुफाको एक भागबाट अर्को भागमा निस्किँदा धेरैजसो स्थानमा उठेरै पार गर्न सकिन्छ । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थान भए पनि संरक्षणको अभावमा ओझेलमा पर्दै आएकाले हाल गुफाको संरक्षणको अभियान सुरु गरिएको अध्यक्ष पुलामीले बताए ।

“यहाँ रहेको अकला मन्दिर जिल्लाकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य हो, तर नजिकै रहेको गुफामा सहजरुपमा पहुँचमार्ग नहुँदा ओझेलमा परिरहेको थियो, यसको संरक्षण र प्रचारप्रसार पनि कम हुँदा त्यति मान्छे आउँथेनन्”, अध्यक्ष पुलामीले भने, “हामी अहिले मन्दिरसँगै गुफाकोसमेत संरक्षण र प्रवद्र्धनमा लागेका छौँ ।”

गुफाभित्र प्रवेश गर्दा अनेकौँ कलात्मक आकृति देख्न सकिन्छ । चमेराको बथानसहित गुफाको भित्री भागको भित्तामा कलात्मक आकृतिले अकला गुफाको आकर्षण बढाएको छ । यसको संरक्षण हुन सकेको थिएन । अहिले बाटो निर्माणसहित गुफामा बत्ती जडानको कामसमेत गरिएको समितिका अध्यक्ष पुलामीले बताए । गुफामा पौराणिककालमा ऋषिमुनिले तपस्या गरेको कथन छ । यसको आवश्यक खोज र अनुसन्धान भने हुन सकेको छैन । यसको खोज तथा अनुसन्धान हुनसमेत आवश्यक रहेको समितिका अध्यक्ष पुलामीले बताए ।

अकला गुफासँगै अहिले यहाँ रहेको अकलादेवी मन्दिरमा समेत रङरोगन, गेट निर्माण, बत्ती जडानलगायतका विविध काम गरिएको उनले जानकारी दिए । मन्दिर नजिकै पार्क निर्माण गर्न लागिएको उनले बताए । मन्दिर दर्शनका लागि दैनिकजसो जिल्ला तथा जिल्ला बाहिरबाट भक्तजन आउने गरेको उनले बताए ।

अकला मन्दिर र अकला गुफालाई जोडेर पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्न सकिने सम्भावना रहेको छ । मन्दिरसम्म आउने आन्तरिक तथा बाह्य पर्यटकलाई गुफासम्म पुर्याउन सकेमात्र पनि गुफाको महत्व बढ्ने गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताए । गुफाको संरक्षणका लागि पालिकाबाट आवश्यक काम गरिने अध्यक्ष ओझाले बताए । मन्दिर र गुफा पालिकाको मात्रै नभएर जिल्लाकै महत्वपूर्ण पर्यटकीयस्थल भएकाले यसको संरक्षण र प्रवद्र्धनमा पालिका सधैँ लागिपर्ने उनले बताए ।


प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?