
काठमाडौँ। राष्ट्रिय सभामा नेकपा एमाले सांसद सोनम गेल्जेन शेर्पाले विदेश पलायन नेपालको मात्रै समस्या नभएको बताएका छन् ।
राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । अहिले केही भएन भन्ने भ्रम फैल्याइएको भन्दै आपत्ति जनाए । उनले कसैले पनि सकारात्मक कुरा नगरेको भन्दै सकारात्मक सोच राखेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले पहिला हिमाली भेगमा बसोवास गर्ने मानिसहरु वर्ष दिनमा एक पटक पनि ननुहाउने गरेको भन्दै अहिले हिमालमै पनि प्रत्येक दिन नुहाउने गरेको बताए । यो एउटा उपलब्धि भएको बताए । उनले हिमाली क्षेत्रका बासिन्दाहरुको आर्थिक अवस्थामा पनि सुधार आएको बताए ।
सांसद शेर्पाले भने, ‘अहिले हामी पोजेटिभ कुरा किन गर्न सक्दैनौँ । केही भएन, केही भएन भन्ने छ । भएको चाहीँ के छ त ? केही भएकै छैन त ? धेरै भएको छैन र ? मेरै कुरा गर्दा हिजो हिमालमा हाम्रै जातका मान्छेहरुले एक वर्ष नुहाउँदैन थियो । ६ महिना नुहाउँदैन थियो । इमान्दारिताका साथ भन्नुपर्छ । तर आज इकोनोमि राम्रो भएको छ । हाम्रै जातका मान्छेहरु हिमाली क्षेत्रमै बसेर, जहाँ माइनस १९ डिग्रि तापक्रम हुन्छ । त्यहाँ बसेर दिनको एक पटक नुहाउने स्थ्तिि छ । यो प्रगति होइन त ? हिजो हामी नुहाउँदै नुहाउँदैन थियौँ, एक वर्षसम्म । चिसो हुन्थ्यो के हुन्थ्यो, एक वर्षमा नुहाउन पनि गाह्रो गाह्रो हुन्थ्यो । मैले नै भोगेको कुरा हो । तर आज हामी हिमाली क्षत्रेमा बसेपनि प्रत्येक दिन नुहाउँछौँ । एटेज बाथरुम छ । इकोनोमि राम्रो छ । विदेश पलायन नेपालको मात्रै समस्या होइन, सबैको समस्या हो ।’
सांसद शेर्पाले अवसर देखिने ठाउँमा जो कोही पनि जाने बताए ।
प्रकाशित मिति: ३१ असार २०८२, मंगलवार