
काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायमाथि गैरकानूनी धरपकड गरेको भन्दै आपत्ति जनाएकी छिन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद यादवले आपत्ति जनाएकी हुन् । अदालतको आदेश विपरीत र कायरतापूर्ण ढंगले व्यवसायीमाथि कारबाही गरिएको भन्दै उक्त कार्य तत्काल रोक्न चेतावनी समेत दिइन । उनका अनुसार रौतहटको राजदेवी नगरपालिकाका स्थायी बासिन्दा तथा हाल काठमाडौं महानगरपालिका–४ मा कवाडी व्यवसाय गर्दै आएका राजाराम शाहको पसलमा महानगरले डोजर लगाएर तोडफोड गरेको छ । उनले कदमलाई गैरकानूनी रुपमा कवाड व्यवसायीमाथि कारबाही गरिरहेको भन्दै दोषीमाथि कारबाही गर्न सरकारसमक्ष माग गरिन ।
उनले भनिन, ‘काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कायरतापूर्ण हमलाबाट अदालतको आदेशविपरित कवाडी व्यवसायीहरुमाथि हमला भएको छ । सभामुख महोदय हिजो असार ३० गते रौतहट राजदेवि नगरपालिका घर भई हाल काठमाडौं महानगरपालिका वडा नंं ४ कवाडी व्यवसाय सञ्चालन गर्दै आएका राजाराम शाहको कवाडमा काठमाडौं महानगरपालिकाले डोजर चलाएर तोडफोड गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कायरतापूर्ण व्यवहारको हाम्रो पार्टी घोर भत्सना गर्दछ । साथै गैरकानूनी हमलामा संलग्न अपराधीहरुलाई कारबाही गर्नको लागि विशेष आग्रह पनि गर्दछौं ।’
उनले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन कृषि मन्त्रीको समेत ध्यानाकर्षण गराइन ।
प्रकाशित मिति: ३१ असार २०८२, मंगलवार