Trending
>>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते
Logo
२१ पुष २०८२, सोमबार
२१ पुष २०८२, सोमबार

आकर्षक पर्यटकीय गन्तव्य बन्दै जलवीरे झरना


काठमाडौँ। चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ मा अवस्थित जलवीरे झरना हालका वर्षहरूमा चितवनकै चर्चित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ ।

लामो झरना भनेर समेत चिनिने यस झरनाको उचाई झन्डै १०२ मिटर रहेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको किनाराबाट करिव १ किलोमिटर उकालो हिँडेपछि यो झरनामा पुग्न सकिन्छ । वन क्षेत्रमा रहेको यो झरनाले प्रकृतिप्रेमीहरू र शाहसिक यात्रामा रुचि राख्नेहरूको ध्यान तान्न थालेको छ । झरनाको फेदमा चार–पाँच फिट गहिरो प्राकृतिक पोखरी बनेको छ । जसलाई झरना विकास समितिले थप व्यवस्थापन गरेर आकर्षक बनाएको छ । गर्मी महिनामा यहाँ पर्यटकहरूको आगमन उल्लेखनीय रूपमा बढ्ने गरेको छ । झरना क्षेत्र वरपर अहिले क्यानोनिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ, र हाइकिङ जस्ता शाहसिक गतिविधिहरू सञ्चालन हुँदै आएका छन् । विभिन्न साहसिक खेल कम्पनीहरूले झरना विकास समितिसँग सहकार्य गर्दै यस्ता कार्यक्रमहरू अगाडि बढाइरहेका छन् । पर्यटकहरूको संख्या हरेक वर्ष बढ्दो क्रममा छ । राजधानी काठमाडौंबाट मात्र करिव पाँच घण्टाको यात्रा गरी झरनामा पुग्न सकिने भएकाले आन्तरिक पर्यटकहरूको लागि यो झरना गर्मी र थकानबाट मुक्ति पाउने प्रमुख गन्तव्य बन्दै गएको छ । यहाँ प्रवेश शुल्क स्वदेशी पर्यटकका लागि ५० रुपैयाँ र विदेशीका लागि १०० रुपैयाँ तोकिएको छ । क्यानोनिङका लागि भने स्वदेशीले १०० रुपैयाँ र विदेशीले ५०० रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ । सामान्य दिनहरूमा दैनिक १०० देखि २०० जना पर्यटक यहाँ पुग्ने गरेका छन् भने शनिवार तथा सार्वजनिक बिदाका दिन यो संख्या ४ सय नाघ्ने गरेको जलवीरे झरना विकास समितिका सचिव अमर अधिकारी बताउछन् ।

उनका अनुसार नयाँ वर्षजस्ता विशेष अवसरमा एकै दिनमा १ हजार ५ सय भन्दा बढी आगन्तुकहरू झरना अवलोकन गर्न आएको रेकर्ड समेत छ ।झरनाको समग्र विकासका लागि गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारले संयुक्त रूपमा संरचनात्मक पूर्वाधार निर्माणमा लगानी गरिरहेका छन् । हालसम्म कालोपत्रे सडक, ढुङ्गाको सिँढी, रेलिङ, गोलघर, शौचालय, धारा, टिकटघर तथा पौडी पोखरी निर्माण भइसकेका छन्। साथै तीनवटा सटर र होमस्टे सञ्चालनको तयारीसमेत भइरहेको छ । आगामी दिनमा यहाँ जिपलाइन र साइकलिङ ट्र्याक सञ्चालन गर्ने योजना बनाइएको छ । जलवीरे झरना अहिले सामाजिक सञ्जालहरू—जस्तै टिकटक, फेसबुक र इन्स्टाग्राम—मार्फत अत्यधिक चर्चित बनेको छ । झरनाको मनमोहक दृश्य, चिसो वातावरण र रमणीयता हेर्न तराई क्षेत्रका साथै भारतका विभिन्न भागहरूबाट पनि पर्यटकहरू आउने गरेका छन् ।

भारतीय पर्यटक जान्ह्वी वर्मा भन्छिन्, ‘यो झरना अत्यन्त सुन्दर छ । यस्तो प्राकृतिक सौन्दर्य भारतमा बिरलै छ ।’

नेपालका काठमाडौं, ललितपुर, भक्तपुर, हेटौंडा, पोखरा, गोरखा लगायतका स्थानहरूबाट पनि उल्लेखनीय संख्यामा पर्यटकहरू आउने गरेको झरना व्यवस्थापन समितिका सचिव अधिकारी बताउछन् । चितवनको गर्मी मौसममा शीतलता दिने यो झरनाले केवल पर्यटकीय क्षेत्रमै होइन, स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न थालेको छ । यसरी नै संरक्षणसँगै योजनावद्ध रूपमा विकास गर्न सकिएमा जलवीरे झरना निकट भविष्यमा राष्ट्रियस्तरको प्रमुख पर्यटकीय केन्द्र बन्नेमा कुनै शंका छैन ।


प्रकाशित मिति: ३१ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?