Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

रसुवाको बाढी हिमताल विस्फोट हुनसक्ने


काठमाडौँ। रसुवामा मङ्गलवार आएको बाढीले स्थानीय क्षेत्रमा ठूलो प्रभाव पारेको छ ।

जल तथा मौसम विज्ञान विभागले यो बाढीको सम्भावित कारण हिमताल विस्फोट हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । विभागकाअनुसार बाढीको प्रकृति सामान्य वर्षातको कारणले भएको नदेखिएको र अन्य सम्भावित कारणहरू पनि हुनसक्ने भएकाले विस्तृत अध्ययन भइरहेको छ । तिब्बत क्षेत्रमा रहेका हिमतालहरू र तिनमा देखिएको परिवर्तनलाई लिएर विभागले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरूसँग समन्वय गरी भू–उपग्रह तस्वीरहरूको विश्लेषण गरिरहेको बताएको छ । विभागका मौसमविद् विनोद पराजुलीले बादलले छेकेका कारण तस्बिरहरू स्पष्ट नभएको र यकिन कारण पत्ता लगाउन समय लाग्ने बताए । भोटेकोशी र त्रिशुली क्षेत्रमा अहिले बाढीको जलस्तर सामान्य अवस्थामा फर्किएको र तत्काल थप जोखिम नदेखिएको भए पनि सामान्य जोखिम मनसुन भरि कायमै रहेको बताए ।

उनले भने “यकिन कारण पत्ता लगाउन जल तथा मौसम विज्ञान विभागले सम्बन्धित राष्ट्रिय अन्तर्राष्ट्रिय सरोकारवालाहरूसँग समेत समन्वय गरेर काम गरिरहेको छ । तिब्बत क्षेत्रका सम्भावित बाढी सिर्जना भएका स्थानका केही भू–उपग्रहका तस्बिरहरु प्राप्त भएका छन् । तस्बिरहरूमा बादलले छेकेकोले स्पष्ट देखिएको छैन । हामीले यही क्षेत्रबाट अथवा यही तालबाट विपद् वा बाढी सुरु भएको भनेर एकिन गरिसकेको अवस्था छैन तर हामी नजिक पुग्दैछौँ।”

विभागले बाढी भारी वर्षातको कारणले नभएको बताएको छ । हिमनदी क्षेत्रमा हिउँ पग्लिएर बनेका साना तालहरूमा परिवर्तन देखिएको र ती तालहरू नेपालबाट करिव २५ किलोमिटर टाढा तिब्बत क्षेत्रमा रहेको अनुमान गरिएको बताएको छ ।

उनले भने “सम्भावित पहिलो कारण हिमताल विस्फोट नै हुनसक्छ । दुई–तीनवटा तस्बिरहरू जसको हामीले अध्ययन गरिरहेका छौँ । त्यसमा शुप्राग्लासियर लेक भन्छाँै । हिमनदीको क्षेत्रमा हिउँ पग्लिएर विभिन्न साना–साना तालहरू बनेका छन् र ती तालहरूमा केही परिवर्तन देखिएको छ, तिब्बत क्षेत्रमा, ती तालमा देखिएको परिवर्तनको भेरिफिकेसन पनि बाँकी छ।”

मौसमविद् पराजुलीले बाढीको प्रकृति असामान्य रहेको र १०–१५ घण्टासम्म एकनासले बाढी आएको जानकारी दिए । यो पहिलाको प्रकृतिभन्दा फरक रहेको बताए ।

उनले भने “बाढीको प्रकृतिबाट हामी पनि द्विविधामा परेका छौँ । यो घटनामा १०–१५ घण्टासम्म एकनासले बाढी आइरहेको छ। यो सामान्य होइन। पहिलाको प्रकृतिभन्दा पृथक देखिएको छ । यो अवस्था हिमताल विस्फोट भएर मात्र हो भन्न नसकिने छ । यसको विस्तृत अध्ययन जरुरी भएको छ।”

विभागले हिमताल विस्फोटलाई मुख्य सम्भावित कारण मानेर अध्ययन गरिरहेको छ । तत्कालका लागि जोखिम घटे पनि सामान्य जोखिम कायमै रहेको विभागको अनुमान छ । छिट्टै विस्तृत जानकारी सार्वजनिक गर्ने विभागले जनाएको छ ।


प्रकाशित मिति: २५ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?