Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

साफ यु–२० महिला च्याम्पियनसिपको उपाधि जित्छौं– प्रशिक्षक गुरुङ


काठमाडौँ। नेपाली युवा महिला फुटबल टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले साफ यु–२० महिला च्याम्पियनसिपको उपाधि जित्ने बताएका छन् ।

आगामी जुलाई ११ देखि २१ तारिखसम्म बंगलादेशको ढाकामा साफ यु–२० महिला च्याम्पियनसिपको दोस्रो संस्करण हुँदैछ । उक्त च्याम्पियनसिपको बिदाइको अवसरमा प्रशिक्षक गुरुङले यसपल्ट तयारी राम्रो भएको र टिम पनि बलियो बनेकाले उपाधि जित्ने आशा व्यक्त गरेका छन् । उनले यसै च्याम्पियनसिपको तयारीका लागि तीन वटा मैत्रीपूर्ण खेल पनि खेलेको उल्लेख गरे । यसले गर्दा खेलाडीहरूमा आफ्नो तयारीलाई बलियो बनाउने अवसर मिल्ने उनको विश्वास छ । यस उमेरसमूहमा भारतबाहेक नेपाल, भुटान, बंगलादेश र श्रीलङ्काले प्रतिष्पर्धा गर्दैछन् । प्रशिक्षक गुरुङले भारतको सहभागिता नहुनु आफूहरूको लागि सहज नरहेको पनि उल्लेख गरे ।

भारतजस्तो बलियो टिमसँग खेल्न आफूहरू तयार रहने प्रशिक्षक गुरुङको भनाइ छ । प्रतिस्पर्धी टोलीहरू बलियो रहेको उल्लेख गर्दै खेल प्रतिस्पर्धा हुने उनले आशा व्यक्त गरेका छन् । सिनियर राष्ट्रिय टोलीका लागि ब्याकअपसमेत रहेकाले यो उमेर समूहको प्रतिष्पर्धा महत्वपूर्ण हुने उनी बताउँछन् । यसै टोलीबाट केही खेलाडी छिटै सिनियर राष्ट्रिय टोलीमा समेत देखापर्ने उनको विश्वास छ । गुरुङले अहिले बलियो टोली बनेको र साफ यु–२० महिला च्याम्पियनसिपको उपाधि जित्ने विश्वास व्यक्त गरे ।

साबिक उपविजेतासमेत रहेको नेपाली टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक महिनादेखि तयारी गरेको थियो । नेपाली टोलीका प्रशिक्षक गुरुङले यसपल्ट डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई राम्रो चुनौती दिन सक्ने टोली बनेको उल्लेख गरेका छन् । पछिल्लोपल्ट यो उमेरसमूहमा राष्ट्रिय टोलीका तीन सदस्य प्रीति राई, अमिशा कार्की र दीपा शाहीले खेलेका थिए । तर पनि सन् २०२३ मा सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपको नेपालले उपाधि जित्न सकेन । नेपाली टोलीले सेमिफाइनलमा भारतलाई हराउँदै बंगलादेशसँग उपाधि भिडन्त तय गरेको थियो ।

तर फाइनलमा भने नेपाली टोली ३–० को फराकिलो हार सामना गर्न बाध्य भयो । फेरि दुई वर्षपछि नेपाली टोली बंगलादेशमा नै दोस्रो संस्करणमा प्रतिस्पर्धा गर्दै छ । प्रशिक्षक गुरुङले त्यो फाइनल फ्लड लाइटमा हुँदा खेलाडीलाई खेल्न असहज भएको र उपाधि गुमाउनु परेको बताएका छन् । यसपल्ट त्यो अवस्था नदोहोरिने उनको विश्वास छ । टोलीमा केही नयाँ अनुहार र उमेरसमूहका उत्कृष्ट खेलाडी समावेश छन् । यु–२० टोलीकी नवनियुक्त कप्तान बिर्सना चौधरीले तयारी राम्रो भएकाले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन् । बिदाइ कार्यक्रमकै अवसरमा बिर्सनालाई कप्तान घोषणा गरिएको थियो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित एक कार्यक्रममार्फत नेपाली टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राई लगायतले विदाई गरेका हुन् । उनीहरूले टोलीलाई नेपालको राष्ट्रिय झण्डा प्रदान गर्दै बिदाइ गरेका थिए । सो अवसरमा एन्फाका अध्यक्ष पंकज विक्रमले कुनै दबाबबिना उच्च मनोबलका साथ खेल्न आग्रह गरे । महासचिव राईले पनि उच्च मनोबलको साथ खेल्न शुभकामना दिए । एन्फाले तीन स्थानमा सम्पन्न खुला छनोटबाट ६० जनाको प्रारम्भिक टोली बनाइएको थियो । त्यहाँबाट अन्तिम २३ सदस्यीय नेपाली युवा टोली घोषणा गरेक हो ।

यो टोलीमा कुनै पनि उमेरसमूह नखेलेका तीन नयाँ अनुहार पनि छन् । यो संस्करणमा भारतले सहभागी भएको छैन । नेपाल र बंगलादेशसहित भुटान र श्रीलंकासहित कुल चार राष्ट्र छन् । लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि उचाल्नेछ । नेपालका लागि डिफेन्डिङ च्याम्पियन बंगलादेशसँगै भुटान पनि कठिन प्रतिद्वन्द्वी बन्न सक्नेछ । किनकी भुटानले पछिल्लो समय विभिन्न उमेरसमूहमा राम्रो प्रदर्शन गरेको छ । उमेरसमूहको एकेडेमीबाट उत्पादित भुटानका टोलीले दक्षिण एसियाली फुटबलमा बिस्तारै प्रभाव बढाउन थालेको छ । टोलीकी सदस्य मीना देउवालाई महत्त्वपूर्ण खेलाडीका रुपमा हेरिएको छ ।

प्रशिक्षक गुरुङले टोली घोषणा गरिसकेका छन् । टोलीको तीन गोलकिपरमा लिला जोशी, करुण बुढाथोकी र सुजता तामाङ छन् । अन्य सदस्यमा सरिताकुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू, सिमरन राई, झुमा विश्वकर्मा, गंगा रोकाया, अनिषा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी, सेनु परियार, कुसुम खतिवडा, सुक्रिया मिया, मनीषा सेन, वर्षा ओली, पूर्णीमा राई, मीना देउवा र समीक्षा मगर छन् । नेपालले जुलाई ११ मा भुटानसँग खेल्दै उपाधि यात्रा थाल्नेछ । त्यसपछि नेपालले जुलाई १३ मा घरेलु टोली बंगलादेश र जुलाई १५ र १७ मा श्रीलंकाको सामना गर्नेछ ।

नेपालले जुलाई १९ मा भुटान र २१ मा बंगलादेशसँग फेरि खेल्ने तालिका छ । सहभागिता चार टोलीले एक अर्कासँग दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष स्थानमा रहने टोली च्यानम्पियन बन्नेछ । नेपाली टोलीको सहायक प्रशिक्षकमा सन्देशकुमार श्रेष्ठ र किरण कुमार कार्की छन् । गोलकिपर प्रशिक्षकको जिम्मेवारीमा मीनबहादुर बस्नेत र टिम म्यानेजरमा इन्दु दुवाल छन् ।


प्रकाशित मिति: २४ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?