Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

हिमताल संरक्षणमा नेपाललाई हरित जलवायु कोषको सबैभन्दा ठूलो सहयोग


काठमाडौँ। हिमताल विस्फोटबाट हुनसक्ने क्षती कम गर्ने कार्यका लागि नेपालले हरित जलवायु कोषबाट ५ अर्ब नेपाली रुपैयाँ बराबरको अनुदान प्राप्त गरेको छ । हिमताल संरक्षणको क्षेत्रमा नेपालले प्राप्त गरेको यो रकम हरित जलवायु कोषले उपलब्ध गराएको पहिलो र सबैभन्दा ठूलो सहयोग हो ।

युएनडिपीको सहयोगमा जल तथा मौसम विज्ञान विभाग र उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमार्फत प्रश्तावित परियोजनालाई पपुवान्युगिनीमा बसेको हरित जलवायु कोषको बोर्ड बैठकले स्वीकृत गरेको छ ।

हिमताल विस्फोटबाट हुने क्षतिलाई न्युनिकरण गर्ने कार्यका लागि बोर्डले ३६ दशमलव १ मिलियन अमेरिकी डलर (झन्डै ५ अर्ब नेपाली रुपैयाँ) को १५ बर्षे परियोजना स्वीकृत गरेको छ । यो परियोजनामा पहिलो चरणको ७ वर्ष हरित जलवायु कोषले उपलब्ध गराएको अनुदानबाट कार्यक्रम सञ्चालन हुनेछ । दोस्रो चरणको ८ वर्ष नेपाल सरकारले अन्य निकायसँगको सहलगानीमा परियोजना अघि बढाउनुपर्ने छ । पछिल्लो ८ वर्षमा करिव १३ दशमलब ९ मिलियन अमेरिकी डलर (करिव २ अर्ब नेपाली रुपैयाँ) बराबरको कार्य गरिने अनुमान गरिएको छ । यसबाहेक परियोजनाले समेटेका स्थानीय सरकारसहित अन्य संवद्ध विभाग, निकाय तथा मन्त्रालयले पनि समानान्तर आर्थिक दायित्व लिनेछन् ।

संयुक्त राष्ट्रसंघले सन् २०२५ लाई हिमनदी संरक्षणका लागि अन्तर्राष्ट्रिय वर्षको रूपमा मनाउँदै गर्दा नेपालले हिमताल संरक्षणका लागि हरित जलवायु कोषको अनुदान पाएको हो । परियोजनाको नेतृत्व गर्ने मन्त्रालय उर्जा जलस्रोत तथा सिंचाई सचिव सरिता दवाडीले सरोकारवाला निकाय र विकास साझेदार युएनडिपिको निरन्तरको सहयोग र सहकार्यपछि प्रोजेक्ट स्वीकृत भएकोमा सबैलाई धन्यवाद दिए । उनले छो रोल्पा र इम्जा हिमताल संरक्षणमा प्राप्त गरेको सफलता पछि ४ वटा ताल संरक्षणमा अनुदान प्राप्त भएको उल्लेख गर्दै अन्य तालको संरक्षणमा पनि मन्त्रालयले काम गर्दै जाने प्रतिवद्धता जनाए ।

उनले भने ‘विगत ८ बर्षको प्रयासमा ४ वटा लेक लोअरिङ्गको लागि जिसिएफको प्रोजेक्ट प्राप्त गरेका छौ । यसमा म अत्यन्तै खुसी व्यक्त गर्न चाहन्छु र यसमा संलग्न हुने सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छु । यसको कार्यान्वयन गर्ने निकाय उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय र यो अन्र्तगतको जल तथा मौसम विज्ञान विभाग रहेको छ । यसमा अन्य सरोकारवाला निकायहरु जस्तै ः एनडिआरआरएमए, बन मन्त्रालय अन्तरगत भू संरक्षण विभागका र स्थानीय सरकारको पनि भूमिका रहन्छ । यसको एक्रीडेटेड संस्था भनेको युएनडिपी हो । युएनडीपि र जल तथा मौसम विज्ञान विभाग मिलेर यसको प्रपोजल तयार भएको थियो । त्यसपछि यसको नेतृत्वका लागि विभिन्न चरणमा छलफल भयो । छलफल पछि विभागले नै यसको नेतृत्व लिनुपर्छ र त्यसलाई हेर्ने निकाय भनेको उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय हो र मन्त्रालयले नै नेतृत्व लिनुपर्छ भन्ने किसिमले छलफल अघि बढ्यो । प्रपोजललाई परिस्कृत गर्ने, विभिन्न चरणमा आएको कमेन्टलाई सम्बोधन गर्ने काम भयो । अहिले यो प्रोजेक्ट एप्रुभ भएको छ । विगतमा छो रोल्पा र इम्जा लगायतमा लेक लोअरिङ्गको काम गरिसकेको हाम्रो इतिहास छ । त्यसैलाई आधार मानेर हामीले अहिले जिसिएफको फण्ड भित्र्याउन सफल भएका छौ । यो हाम्रो इनिसियल इन्टरभेन्सन हो । यसलाई विस्तारै अन्य लेकमा इन्टरभेन्सन गदै जाने हिसावले मन्त्रालय अघि बढ्छ भन्न चाहन्छु । ’

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमल राम जोशीले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका हिमताल विष्फोटबाट हुने क्षति कम गर्ने कार्यका लागि प्राप्त अनुदान नेपालका लागि निकै महत्वपुर्ण रहेको बताए । उनले प्राप्त अनुदानबाट हिमतालको सतह कम गर्ने,जलतथा मौसमी केन्द्र स्थापना, विपद पूर्वसूचनामा पहुँच विस्तार र जलाधार संरक्षणमा खर्च गरिने बताएका छन् । यो परियोजनाले कोशीका ३ र गण्डकीको एउटा हिमताललाई समेटेको जानकारी दिए ।

उनले भने ‘विगतमा विभागले इसिमोड लगायत युएनडिपीको सहयोगमा छो रोल्पा र इम्जामा जोखिम घटाइसकेको सन्र्दभमा हामीले हामीले युएनडिपीसंग मिलेर ग्रिन क्लाईमेट फण्डमा २०१८ मा पहिलो प्रपोजल पठाएका थियौ । हाम्रो लगातारको मेहनत पछि परियोजना प्रस्ताव जिसिएफ बोर्डबाट पास भयो । यो परियोजनाले जलवायु परिर्वतनका नेपालमा जोखिममा रहेका २१ मध्ये ४ वटा लेकहरु लोअर बरुण, लुमडिङ त्सो, होंगु टु र ठूलागी हिमतालको हिम सतहलाई तल झारेर त्यो क्षेत्रमा हुनसक्ने जोखिमलाई न्युनिकरण गर्ने,हिमताल विस्फोट हुन नदिने, भईहालेमा जल तथा मौसमी केन्द्रहरुको अपग्रेट र नयाँ स्थापना गरेर समयमै सर्वसाधरणलाई विपद्को पूर्वको जानकारी दिने र जलाधारको संरक्षण नै यसको प्राथमिकता हो । यसका लागि तीनै तहका सरकार, विकास साझेदार, एनजिओ,आईएनजीओ , नीजि क्षेत्र, अनुसन्धान गर्ने संस्था लगायत संगको समन्वय र सहकार्यमा जल तथा मौसम विज्ञान विभाग, उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको लिडमा एनडिआरआरएमए र भू संरक्षण विभाग समेतको सहभागीतामा यो कार्य गर्छौं । जोखिमयुक्त रहेको ४ वटा हिमतालको सतह घटाउने र जल तथा मौसमी केन्द्र राख्नेमा जल तथा मौसम विज्ञान विभागको भूमिका रहनेछ । पूर्वसूचना प्रदान गरेपछि क्षति न्यूनीकरण र समयमै उद्धार र पुनस्थापनाको लागि एनडिआआरएमएको सहयोग रहनेछ । जलाधार संरक्षणमा भूसंरक्षण विभागले कार्य गर्ने योजना रहेको छ ।’

नेपालका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) का आवासीय प्रतिनिधि क्योको योकोसुकाले पर्वतीय क्षेत्रले सामना गरेका जटिल जलवायु जोखिमलाई सम्बोधन गर्न नेपाल सरकारसँग साझेदारी गर्न पाउनु आफूहरुका लागि महत्वपूर्ण अवसर भएको प्रतिक्रिया दिए । उनले हरित जलवायु कोषको सहयोगमा हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवन रक्षा र उत्थानशीलताका लागि संचालन हुने कार्यक्रम दीर्घकालीन लगानी भएको बताए ।

जल सतह घटाउने, जल तथा मौसमी केन्द्र स्थापना गर्ने र समयमै पूर्वसूचना प्रवाह गरी त्यस क्षेत्रका बासिन्दालाई सचेत गराई जोखिम न्युनिकरण गर्ने र भूसंरक्षणमार्फत जलाधार संरक्षण गर्ने परियोजनाका प्राथमिकताका क्षेत्र रहेका छन् । त्यसैगरी प्रोजेक्ट क्षेत्रमा १ सय ५० हेक्टर भन्दा बढी क्षेत्रमा वृक्षरोपणमार्फत जलाधार क्षेत्रको भूसंरक्षण गर्ने लगायतका कयौ कार्यक्रमहरु रहेका छन् ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?