Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पर्यटकीयस्थल बन्दै ‘मगर भिलेज’


२३ चैत्र, तनुहुँ । मिछुर्लुङ गाउँमा खोलिएको मगर भिलेज रिसोर्ट यतिबेला पर्यटकीय गन्तव्यस्थलका रूपमा विकसित हुन थालेको छ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका सचिव प्रताप रानामगरले सञ्चालनमा ल्याएको उक्त रिसोर्टमा दैनिकजसो आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको खैरेनीटारबाट भिमाद हुँदै मिर्छुलुङ पुगिन्छ । खैरेनीटारबाट आठ किलोमिटर भिमाद बजार र त्यहाँबाट चार किलोमिटर यात्रा गरेपछि मिर्छुलुङ गाउँ पुगेपछि मगर भिलेज रिसोर्ट भेटिन्छ ।

उक्त रिसोर्ट पर्यटकीय तथा अध्ययन केन्द्रका रूपमा विकास हुन थालेको सञ्चालक राना मगरले जानकारी दिए । उनले भने, “प्राकृतिक वातावरण, स्थानीय संस्कृति र मगर संस्कारलाई प्रवद्र्धन गर्दै यो रिसोर्ट सञ्चालन गरिएको छ । यहाँ दिनदिनै आउने पर्यटकको सङ्ख्या बढ्दो छ ।”
“मगर संस्कृतिको अध्ययनका लागि जिल्ला तथा जिल्लाबाहिरबाट विद्यार्थी, सर्वसाधारण र सहकारी सङ्घसंस्थाका टोली आउँछन् र यहाँको मनोरम दृश्य हेर्दै मोहित भएर फर्किन्छन्”, सञ्चालक रानाले भने । गत वर्षदेखि सञ्चालनमा आएको रिसोर्टले एक वर्षमै ख्याति कमाइसकेको छ ।

यस रिसोर्टमा रहेको घुमाउने घर र खुर्पेटोले यहाँ पुग्ने सर्वसाधारणको ध्यान खिच्ने गरेको छ । “आजभोलि घुमाउने घर कमै मात्रामा देख्न पाइन्छ, हामीले घुमाउने घर बनाएर राखेका छौँ, घर अगाडि खुर्पेटो पनि छ,” उनले भने, “घुमाउने घर र खुर्पेटोमा फोटो खिचाउन आगन्तुक लालायित हुन्छन् ।”

रिसोर्टमा ढिकी, जाँतोजस्ता पुराना सामग्री पनि राखिएको छ । अहिलेका पुस्तालाई पुरातात्विक तथा धार्मिक महत्वका सामग्रीबारे बुझाउन विभिन्न सामग्री राखिएको र अहिले त्यही हेर्न विद्यालयबाट पनि विद्यार्थी आउने गरेको सञ्चालक रानाको भनाइ थियो ।

रिसोर्टमा पुगेका पाहुनालाई प्राङ्गारिक खाना खुवाउने व्यवस्था मिलाइएको छ । यहाँ विभिन्न गीतको छायाङ्कनसमेत हुने गरेको छ । “गाउँले दृश्य भिडिओमा समावेश गर्न र थुप्रै गीतको छायाङ्कन भइसकेको छ,” सञ्चालक रानाले भने । रिसोर्टमा रहेको डुङ्गाको पिङ यहाँको अर्को आकर्षण बनेको छ ।

ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यहाँ दृश्यावलोकन स्तम्भ (भ्युटावर) निर्माण गरिएको छ । देश तथा विदेशमा रहेका नेपालीहरूबाट सङ्कलन गरिएको रकमबाट उक्त स्तम्भ निर्माण गरिएको हो ।

मिछुर्लङमा जन्मेर हाल बेलायतमा रहनुभएका महेन्द्र आलेको परिकल्पनामा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको थियो । कूल रु ३८ लाख चार हजार नौ सयको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको बताइएको छ । मगर समुदायको कौरा र झ्याउरे गीतका साथै प्राङ्गारिक खानाको परिकार मिर्छुलुङको विशेषता हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मिर्छुलुङमा झरना पनि छ । उक्त झरनामा एकपटक क्यानोनिङसमेत सञ्चालन गरिएको थियो।


प्रकाशित मिति: २३ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?