
काठमाडौँ। जेठ १८ गतेदेखि असोज १४ सम्मको अवधिमा औसतभन्दा बढी वर्षा र औषतभन्दा बढी तापक्रम हुने प्रक्षेपण गरिएको छ । उच्च हिमाली र उच्च पहाडी क्षेत्रमा ३५ देखि ४५ प्रतिशत, वागमती प्रदेशमा ३५ देखि ४५ प्रतिशत, गण्डकी र लुम्बिनी प्रदेशका दुई तिहाई भागमा औसतभन्दा बढी वर्षा हुने अनुमान छ ।
उच्च हिमाली क्षेत्रमा औसतभन्दा बढी तापक्रम हुने भनिएकाले हिमपहिरोदेखि हिमताल विष्फोटका घटना पनि सँगसँगै हुने अवस्था रहेको विज्ञहरुको चेतावनी छ । विज्ञहरुको पूर्वानुमानलाई आधार बनाएर सरकारले पूर्वतयारीका कामहरु व्यवस्थित हिसावले गरिरहेको बताएको छ । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उपे्रतीले मनसुनी असरले पार्ने समस्या न्युनिकरणमा सरोकारवाला निकायमात्र नभई आम नागरिकको भुमिका त्यत्तिकै महत्वपूर्ण हुने बताएका छन् ।
हिम पहिरोदेखि हिमताल विष्फोटका घटना सँगसँगै हुने अवस्था
डा. उप्रेतीकाअनुसार यस वर्षको जेठ १८ गतेदेखि असोज १४ सम्मको अवधिमा औसत भन्दा बढी वर्षा र तापक्रम बढ्नेछ । ३० वर्ष यताकै धेरै वर्षा हुने उहाँको भनाइ छ । यस वर्ष देशका विभिन्न स्थानमा फरक फरक वर्षा हुनेछ । मधेस प्रदेशकै उत्तरी भागको उच्च स्थान र चुरे क्षेत्रमा औसत भन्दा बढी वर्षा हुनेछ ।
उहाँले भन्नुभयो, ‘यसपटक जेठ १८ गतेदेखि असोज १४ सम्मको अवधिमा औसत भन्दा बढी वर्षा र औसतभन्दा बढी तापक्रम हुने भन्ने कुराको प्रक्षेपण गरिएको छ । औसतभन्दा बढी वर्षा भनेको चाहीँ ३० वर्ष वा सोभन्दा लामो समयको औसत भन्दा बढी वर्षा हुने भनिएको हो । यो बढी वर्षा देशका विभिन्न भागमा कति प्रतिशतमा कुन ठाउँमा कस्तो छ भनेर फरक फरक छ । र त्यो फरक त्यो सम्भावना ३५ देखि ४५ प्रतिशत छ । जस्तो सुदूरपश्चिमको उच्च हिमाली क्षेत्र दार्चुला, बैतडी लगायतका क्षेत्रमा भनेपछि त्यही कुरा वागमती प्रदेशको कतिपय ठाउँमा ३५ देखि ४५ प्रतिशतमात्र छ । तर केही ठाउँमा चाहीँ ४५ देखि ५५ प्रतिशतको सम्भावना देखिन्छ । सम्भावना अझ बढी छ भन्ने देखिन्छ । गण्डकी प्रदेशको अधिकांश दुई तिहाई भागमा र लुम्बिनी प्रदेशको पनि करिव करिव दुई तिहाई भागमा औसतभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ भन्ने देखाएको छ । यसबाट के बुझिन्छ भने गण्डकी प्रदेशमा सबैभन्दा बढी वर्षा हुने देखिन्छ । र त्यो प्रदेशको वर्षाको प्रकृति हेर्दा मधेस प्रदेशको दक्षिणी भागमा औसतमात्र वर्षा हुने देखाएको छ । तर मधेस प्रदेशकै उत्तरी भागको उच्च स्थान र चुरे क्षेत्रमा औसत भन्दा बढी वर्षा हुने देखाएको छ । यसपटकको विशेषता भनेको उच्च हिमाली क्षेत्रमा पनि औसतभन्दा बढी वर्षा र खासगरी कर्णाली प्रदेशको उत्तरी भाग र सुदूरपश्चिम प्रदेशको उत्तरी भाग, लुम्बिनी प्रदेशको उत्तरी भागका साथै गण्डकी प्रदेशको पनि उत्तरी भागमा औसतभन्दा बढी तापक्रम पनि हुने भनिएकाले हुनाले चाहीँ डरलाग्दो विषय छ । किनभने उच्च हिमाली क्षेत्रमा तापक्रम औसत भन्दा बढी हुनु भनेको हिम पहिरोदेखि हिमताल विष्फोटका घटनापनि सँगसँगै हुने त्यस्तो अवस्थापनि देखाउँछ । यो लामो प्रक्षेपण भयो अब प्रत्येक महिनाको प्रक्षेपण पनि हुन्छ । र यो असारको नजिक नजिक जुन प्रक्षेपण हुन्छ त्यसलाई हेर्नुपर्ने हुन्छ । असारको पहिलो हप्ताको प्रक्षेपण, साउनको पहिलो हप्ताको प्रक्षेपण, भदौको पहिलो हप्ताको प्रक्षेपण त्यो हेरेपछि अहिलेको अवस्था कति ब्रेक हुन्छ । बीच बीचमा मनसुन लगातार आउने होइन ।’
कृषि क्षेत्रमा मनसुनी असरको समस्या न्युनिकरणमा जोड दिनुपर्छ
डा. उप्रेतीले मनसुनी वर्षा जुन रुपमा हुनुपर्ने हो सोही रुपमा भए कृषि प्रणालीलाई पनि फाइदा पुग्ने बताउनु भयो । मनसुनको बीचमा लामो समय पानी परेन भने कृषिमा यसले नराम्रो असर पार्ने बताउनु भयो । यसलाई व्यवस्थित वा न्युनिकरण गर्नेतर्फ भने सरोकारवाला निकायहरुको भुमिका नै बढी महत्वपूर्ण हुने डा. उप्रेतीको भनाई छ । मनसुनी असरले पार्ने समस्या न्युनिकरणमा सरोकारवाला निकायमात्र नभई आम नागरिकको भुमिका पनि उत्तिकै महत्वपूर्ण हुने उहाँ बताउनु हुन्छ ।
उहाँले भन्नुभयो, ‘कृषि प्रणालीमा पनि लगातार पानी प¥यो, राम्रो पानी प¥यो या थोरै पानी परेर लामो समयसम्म प¥यो भने त्यसले कृषि प्रणालीमा राम्रो गर्छ । तर एकैपटक ठूलो पानी प¥यो भने त्यसले बाढी ल्याएर नोक्सानी गर्ने । एकैचोटी पानी पर्दा आँप पाक्ने समयमा त्यसले राम्रो असर गर्दैन । ब्रेक भयो भने त्यसले वायु प्रदुषणदेखि लिएर फेरि गर्मी हुने सम्भावना हुन्छ । यो खालको विशेषता चाहीँ जल तथा मौसम विज्ञान विभागले गरेको छ भने यही विशेषता चाहीँ दक्षिण एशियाको समग्र अवस्थापनि अहिले छ । कृषिको सन्दर्भमा कृषि अनुसन्धान केन्द्रदेखि लिएर कृषि विभाग, कृषि मन्त्रालयसँग बढी विज्ञता हुन्छ । उहाँले कुन बालीमा कस्तो असर पर्छ भन्नेकुरा उहाँहरुलाई बढी थाहा हुन्छ । मैले भन्दा चाहीँ पानीको प्रकृतिका विषयमा भन्दा धानको बीउ रोप्ने समय नेपालमा अधिकांश जेठको अन्तिमतिर या असारको पहिलो सातासम्मको समय हुन्छ । धानको विउ खेतमा रोप्ने र पाखो जमिनमा पनि धान मकै छर्ने समय यतिबेलै हुन्छ । अब शुरुको अवस्थामा प्रि मनसुनमा मनसुन सक्रिय भएको छ । यो पछिल्लो मनसुनभन्दा अगाडिको महिनामा अझ बढी सक्रिय भएको छ । आज र भोलिमा पनि प्रि मनसुनको अन्तिम अवस्थामा पनि मनसुन सक्रिय हुने नै देखिन्छ । त्यसले गर्दा प्रि मनसुनमा कुनै ठाउँमा राम्रो वर्षा भएकोले कृषि प्रणालीमा राम्रो गर्छ । मनसुन सुरु भएपछि ठूलो पानी पर्दियो भने त्यसले अहिलेको अवस्थालाई माटोमा हुने आद्रता र पानीको लेबल पुगिसकेको अवस्थामा मनसुनी वर्षामा ठूलो पानी प¥यो भने जस्तो अहिले देखिएको छ भारतको कतिपय ठाउँमा अहिले प्रि मनसुनमा पनि धेरै भन्दा धेरै वर्षा भएको छ । शुरुवातकै अवस्थामा २०७८ सालको जस्तो ठूलो वर्षा भइदियो भने त्यसले बाढी ल्याउने सम्भावना त भइहाल्यो । र पहिरो जाने सम्भावनापनि बढी हुन्छ र नदी थुनिने सम्भावनापनि बढी हुने देखिन्छ । अहिले प्रि मनसुनमा पानी नपरेको भए त्यो सम्भावना पछि देखिन्थ्यो । खासगरी अहिले असार महिनामा पनि बाढी पहिरोको सम्भावना बढी देखिन्छ । साउनमा गएर या असारको अन्तिमतिर गएर रोकिन सक्छ । फेरि साउनमा बढ्छ फेरि बीचमा रोकिन्छ । यो ब्रेक हुनुभनेको चाहीँ कृषि विज्ञहरुका कुरा सुन्दा मनसुनको बीचबीचमा धेरै ठूलो ब्रेक भयो भने राम्रो भन्दा नराम्रो असर गर्ने रहेछ । यसलाई कसरी व्यवस्था गर्ने भन्ने सम्बन्धित मन्त्रालय र सबैको भुमिका उत्तिकै रहन्छ । यो एउटामात्र मन्त्रालय या एउटामात्र विभागको काम नभएर यो सबै मन्त्रालय, सबै विभाग, सबै स्थानीय सरकार र सबै विपद् व्यवस्थापन समितिहरु र सबै विपद् ऐनअनुसार परिभाषित भएका संस्थाहरुको भुमिका महत्वपूर्ण हुन्छ । त्यो भुमिका उहाँहरुकोमात्र नभएर सिभिल सोसाइटीदेखि लिएर कम्युनिकेसनसम्म उत्तिकै महत्वपूर्ण हुन्छ ।’
यो वर्ष उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि डेङ्गु देखिनसक्छ
डा. उप्रेतीले यस वर्ष औषत भन्दा बढी पानी र औषत भन्दा बढी तापक्रम हुने देखिएकाले डेङ्गु रोग पछिल्ला वर्षहरुको भन्दा बढ्नसक्ने बताउनु भयो । औसतभन्दा बढी पानी परेर खाल्डाखुल्डीमा पानी जम्ने र पानी रोकिएसँगै बढ्ने तापक्रमका कारण ती खाल्डाखुल्डी डेङ्गु उत्पादन गर्ने उद्योगका रुपमा परिणत हुनसक्ने उहाँको बुझाइ छ । साथै यो वर्ष उच्च पहाडी तथा उच्च हिमाली क्षेत्रमा पनि डेङ्गु देखिने सम्भावना भएकाले सचेतना फैलाउनु जरुरी भएको उहाँको भनाइ छ । यो आजको मात्र समस्या नभएकोले यस प्रकारका समस्या समाधानका लागि प्रविधिमा पनि सँगसँगै काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पहिलो त मनसुन सिजनमा सबैभन्दा बढी देखिने र नेपालले सबैभन्दा बढी भोगेको समस्या भनेको डेङ्गुको समस्या हो । डेङ्गुको समस्या तापक्रम औसतभन्दा बढी भयो र पानी औसतभन्दा बढी परेर खाल्डाहरुमा पानी भरियो र मनसुन ब्रेक भएको अवस्थामा डेङ्गुको मच्छर उत्पादन गर्ने उद्योगजस्तो हुन्छ । र मानिसहरुमा डेङ्गुको केशहरु पछिल्ला वर्षहरुको भन्दा बढ्नसक्ने छ । त्योभन्दा खतरनाक के छ भने उच्च हिमाली क्षेत्र र उच्च पहाडी क्षेत्रहरुमा तापक्रम औसतभन्दा बढी जस्तै सुदूरपश्चिमको उत्तरी क्षेत्रमा तापक्रम औषत भन्दा बढी तापक्रम हुने भनिएको र कर्णालीका उत्तरी क्षेत्रमा औषत भन्दा बढी तापक्रम हुने भनिएकोले त्यहाँपनि डेङ्गुको सम्भावना बढ्नेछ । अथवा पहाडी तथा हिमाली क्षेत्रमा पनि डेङ्गुको देखिनसक्ने सम्भावना देखिएको हुनाले एउटा त्यसमा सचेतनाको कुरा भयो । दोस्रो मनसुन सिजनमा पानी प्रदुषण हुने । पानीमा यताउताबाट आउने प्रदुषणका कारकहरु छन् त्यो मिसियो भने त्यो पानी खाने सिष्टमबाट हाम्रो रगतसम्म पुग्ने सम्भावना हुने हुनाले पानी प्रदुषित हुनबाट कसरी रोक्ने भन्ने कुरा जस्तै तराईमा ह्याण्ड पम्प छ ह्याण्ड पम्प पानीले भरियो या डुवानमा परेपछि त्यही पानी तानेर खाने हो भने त्यसमा प्रदुषणको मात्रा धेरै हुन्छ । अलिकति जमिनको सतहबाट कतिसम्म डुवान हुन्छ त्यो भन्दा माथिको खाँदा त्यो सम्भावना घटाउँछ । अब प्रविधिमा पनि सँगसँगै काम गर्नुपर्ने हुन्छ । अब मनसुनको एक हप्ता दुई हप्ता पनि छैन र यतिबेला सबैकाम गर्न सकिन्छ भन्ने कुरा छैन ।’
जोखिम आँकलन गरेर पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ
डा. उप्रेतीले उत्तरी क्षेत्ररुमा औषत भन्दा तापक्रम र वर्षा बढी हुने भएकाले हिमाली क्षेत्रमा पनि बढी पानी परेको बताउनु भयो । जसका कारण माटो बगाएर ल्याउने, नदी थुनिने फेरि फुट्ने र नदी थुनिदा त्यसले ठूलो तालको रुप लिने भएकाले झनै विकराल अवस्थाको सिर्जना हुनसक्ने उहाँको भनाइ छ । त्यसकारण हिमाली भेगबाट बग्ने नदीहरु कर्णाली, कोशी, राप्ती, बबईदेखि नारायणीसम्म तटीय क्षेत्रमा उपल्लोदेखि तल्लो अवस्थासम्म जोखिमको आँकलन गरेर पूर्वसूचना प्रणालीको विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘औसतभन्दा बढी तापक्रम उत्तरी क्षेत्रमा पर्ने र धेरैजसो जल तथा मौसम विज्ञान विभागको नक्सा जुन बाहिर आएको छ मनसुनको । त्यसलाई मात्र हेर्ने हो भने पनि औसत भन्दा वर्षा पनि उत्तरी क्षेत्रमा बढी हुने र औसत भन्दा तापक्रम पनि उत्तरी क्षेत्रमा बढी हुने हुनाले मैले दुई तरिकाबाट हेर्छु । एउटा उत्तरी क्षेत्रमा औसतभन्दा बढी वर्षा हुनुभनेको चाहीँ त्यो हिउँको रुपमा या पानीको रुपमा कुन रुपमा पर्छ भन्ने कुरा चाहीँ त्यसको महत्व हुन्छ । अहिलेको अनुमान हेर्दा चाहीँ उच्च हिमाली क्षेत्रमा पानी पर्ने सम्भावनाहरु बढेर गएको र पानी परिराखेको देख्यौँ । जुन खालको बाढी आयो त्यो चाहीँ हिउ परेर आएको बाढी होइन, पानी परेर आएको बाढी हो । र अहिलेको यो प्रक्षेपण पनि कतै उच्च हिमाली क्षेत्र जहाँ माटोमात्र छ । वननवस्पतिले छोपेको अवस्था छैन । त्यस्तो ठाउँमा पानी प¥यो भने त्यसले माटो बगाएर ल्याउने, नदी थुन्ने, फेरि त्यो फुट्ने, फेरि अगाडि बढ्ने र थुनिने कारणले तालको रुप लिने हुँदा एउटा खतरा त्यो छ । दोस्रो खतरा भनेको हिमाली क्षेत्रका वस्तीहरु नदीको किनारमा छन् । पानीको सुरक्षाका लागि जुन पानी नदीमा छ र नजिकै पाइन्छ भनेर परम्परागत तरिकाले बसेको बस्ती छ । त्यो बस्तीमा अब खतरा बढ्यो । खतरा कसरी बढ्यो भने पूर्खादेखि यहीँ बसेका छौं भनेर त भनिरहेकै छन् तर पूर्खाको समयमा जलवायु परिवर्तनको असर बढेको थिएन । अब अहिले त्यही ठाउँमा बस्दाखेरि चाहीँ उहाँहरुले नसोचेको कुरा भयो तर अब राज्यले चाहीँ यस्तो हामीले सोचेकै थिएनौं भन्न पाइएन । उच्च हिमाली क्षेत्रमा तापक्रम वृद्धिको असर जुन जुन बस्ती खोला किनारमा छन् उच्च हिमाली क्षेत्रमा ती वस्तीहरुलाई सुरक्षित स्थानमा सार्ने कुरा एउटा सम्भावना होला तत्कालका लागि तर भविष्यका लागि भने सुरक्षित स्थानमा सेटलमेन्ट प्लानिङ नै बनाएर सोच्नुपर्ने अवस्था छ भने अहिलेकै प्रभावित बस्तीहरु जस्तो कि लिमिमा बाढी आयो, त्यसले एकखालको प्रभाव पारेको छ र उहाँहरुलाई फेरि त्यही खोलाकै किनारमा अहिले हामीले राख्ने हो भने अर्को दुर्घटना हुनसक्ने सम्भावना अझै छ । जस्तो थामेमा देखिएको घटना साना साना ताल फुटेर त्यत्रो घटना भयो भने अहिलेको चाहीँ औसत तापक्रम वृद्धि र जुन औसतभन्दा बढी तापक्रम हुने र औसतभन्दा बढी पानी पर्ने जुन प्रक्षेपण छ त्यसलाई हिमतालसँगको ग्लब्ससँग जोडिदिने हो भने कुनै ठूलो ताल विष्फोट भयो भने त्यसको परिणाम चाहीँ हामी कल्पना पनि गर्न सक्दैनौं । त्यो हिसावले पनि यो जतिपनि हिमाली नदीहरु छन्, हिमाली भेगहरुबाट बग्ने नदीहरु कर्णालाी, कोशी, बबई, राप्तीदेखि नारायणीसम्म यी नदी तटीय क्षेत्रमा उपल्लो अवस्थादेखि तल्लो अवस्थासम्म पनि हामीले जोखिमको आँकलन गरेर बस्तीहरुलाई पूर्वसूचना प्रणाली जति सकिन्छ विकास गर्नुपरो र स्याटेलाइटको मनिटरिङबाट पनि हेर्नुप¥यो । किनभने उच्च हिमाली क्षेत्रमा स्टेशन छैन । त्यसैले स्टेशन नहुँदा कति पानी परिरहेको छ भन्ने कुरा आँकलन डिटेक्सन सिष्टमबाट नहुने हुँदा स्याटेलाइट सिस्टमबाट त्यसलाई हेरेर पूर्वसूचना दिनसक्यौं भने त्यसले हानी नोक्शानी कम गर्नसक्छ । यो काम चाहीँ जरुरी छ भन्ने देखाएको छ ।’
भौतिक संरचना निर्माणलाई वैज्ञानिक बनाउनुपर्छ
हरेक वर्ष हुने मनसुनी क्षति कम गर्न भौतिक संरचना र अन्य संरचना निर्माणलाई वैज्ञानिक तरिका अपनाउनुपर्नेमा डा. उप्रेतीले जोड दिनुभयो । उहाँले रोशी खोलामा हालै पुगेको क्षतिको उदाहरण दिँदै २४ घण्टामा एक सय चालिस देखि २ सय मिलिमिटर वर्षापछि आउने बाढी ४४ मिलिलिटरमै आउनु खतराको संकेत भएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रत्येक वर्ष आउने मनसुनी अवस्था छ त्यो अवस्था अहिले औसतीय अवस्था हुँदा पनि बाढी पहिरो आउने सम्भावना बढी हुन्छ । अहिले चाहीँ हाम्रो जतिपनि भौतिक संरचना निर्माण र अन्य संरचनालाई वैज्ञानिक तरिकाले निर्माण नगरेको अवस्थाले गर्दा थोरै पानीमा पनि जस्तो रोशी खोलामा ४४ मिलिमिटर पानीमा त्यत्रो ठूलो बाढी आयो । भनेपछि लगभग २४ घण्टामा एक सय ४० मिलिमिटर २ सय मिलिमिटर वर्षाभएपछि आउने बाढी ४४ मिलिलिटरमै आयो भनेपछि यो खतरनाक हो । र अहिले ४४ मिलिमिटर भन्दा बढी वर्षा त हुन्छ हुन्छ सबै ठाउँमा । रोशीले जुन एक खालको अवस्था देखायो । त्यो हाम्रो लागि चुनौति हो । र त्यो चुनौति देशका धेरै भागमा हुनसक्ने भएकाले त्यसलाई मध्यनजर गरेर यातायातका क्षेत्रमा सचेतना अपनाउनुपर्ने, गत वर्षको घटना ताजै छ । अन्य ठाउँमा कच्चि रोडहरुमा पहिरोले ब्लक हुने अवस्था छ । खाद्य ढुवानी गर्नुपर्ने अवस्था । १०÷१५ दिन को अवधिमा त्यो समय भन्दा अघि नै दूरदराजका गाउँहरुमा ढुवानी गरिसक्नु प¥यो ।’
प्रकाशित मिति: १० जेष्ठ २०८२, शनिबार