
काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको टिप्पणी गरेका छन् ।
शनिवार काठमाडौंमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाडौं महानगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले के भयो र ? के भएको छ र ? जस्ता भाष्यहरु बनाएर प्रजातन्त्रले के ल्यायो भन्दै प्रश्न गर्ने काम भइरहेको बताए । अभिव्यक्ति स्वतन्त्रताको अधिकार कसले दियो ? भन्दै प्रश्न गरेका छन् । संघर्ष र बलिदानबाट प्राप्त अधिकारको संरक्षण गर्ने काम सबैको भएको बताउदै उनले नकारात्मक कुरालाई प्रचार गर्ने काम भइरहेको भन्दै असन्तुष्टि जनाएका छन् ।
उपप्रधानमन्त्री सिंहले भने, ‘अहिले एउटा फेसन जस्तो के भयो र ? के भएको छ र ? यो प्रजातन्त्रले के ल्यायो र ? के दियो र भन्छन् । त्यो के दियो ? के चित्त बुझेन भन्ने अभिव्यक्ति स्वतन्त्रता दिने कसले दियो त भन्दा यही प्रजातान्त्रिक पद्धतिले दिलाएको हो । प्राप्त भएको अधिकारलाई अब हामी सुरक्षित राख्ने जिम्मेवारी कसको ? संघर्ष गरेर अधिकार आयो । अधिकार आइसकेपछि अधिकार सुरक्षित राख्दै, संस्थागत गर्दै अगाडि बढाउने जिम्मेवारी तपाईं हाम्रो काँधमा छ । अहिलेको समय खालि नेगेटिभ कुरालाई हाइलाइट गर्ने, अचिभमेण्टलाई केही होइन यो, प्राप्त गरेको कुरा केही होइन भन्ने । प्राप्त गरेको कुरा केही होइन भने के नयाँ प्राप्ति गर्न यो आवाज उठिरहेको छ त ? यतातिर पनि हाम्रो ध्यान जानुपर्छ । लामो समयको त्याग तपस्या र बलिदानले अहिलेको प्रणाली ल्याएका छौँ ।’
उपप्रधानमन्त्री सिंहले जनताको अधिकार सुरक्षित राख्ने कुरामा सबैले ध्यान दिनुपर्ने बताएका छन् ।
प्रकाशित मिति: १० जेष्ठ २०८२, शनिबार