
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा अभिनय शुरु भएको बताएका छन् ।
मंगलवार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले राति मुसा समाउने र बिहान भएपछि पूजापाठ गरेर रुद्राक्ष माला लगाएझैँ गरी चोखो बन्ने अभिनय राजनीतिमा पनि शुरु भएको बताएका छन् । उनले नयाँ संस्करणको राजनीतिमा भगवानको नाम जप्ने तर काम भने राक्षसको जस्तो गर्ने प्रवृत्ति शुरु भएको टिप्पणी गर्दै राजनीति अभिनय र सेन्टिमेन्टमा नचल्ने जिकिर गर्दै देश यथार्थले मात्रै बदल्न सकिने बताएका छन् ।
प्रधानमन्त्री ओलीले भने, ‘आजकाल राजनीतिमा पनि अभिनय आएकै छ । राति राति मुसा झ्याप्प,झ्याप्प, झ्याप्प पाल्यो, बिहानै भएपछि यस्तो लगाएर (ठाडो टिका), घण्टी बाँधेर, पाखुरामा रुद्राक्ष बाँधेर यसरी निस्किन्छन् मान्छे की मंगलम भगवान विष्णु… । शान्ति ओं, शान्ति ओं, शान्ति ओं । बाघको पञ्जा चाहिने बेलामा मात्रै निस्किन्छ । अघिपछि टेक्दा पनि नङ्ग्रा हुँदैन । पञ्जा मात्रै हुन्छ । दाह्रा पनि चाहिएको बेलामा मात्रै देखिने रहेछ । यो पनि राजनीतिमा अलिअलि चल्न थालेको छ । अहिले यो नयाँ संस्करणमा । तर राजनीतिको आचरण त्यस्तो होइन, राजनीति न सेन्टिमेन्टमा न अभिनयमा देश बदल्न सकिन्छ । बदल्न भनेको यथार्थमा बदल्ने हो ।’
प्रधानमन्त्री ओलीले सिनेपाले सिनेमा क्षेत्रलाई बदल्ने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलवार