Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

काठमाडौं महानगरबाट अहिलेसम्म ५२ हजार ७ सय ४० ले निशुल्क कानूनी सेवा लिएः उपप्रमुख डंगोल


काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले अहिलेसम्म काठमाडौँ महानगरपालिकाबाट ५२ हजार ७ सय ४० जनाले निःशुल्क कानुनी सेवा लिएको बताएकी छन् । कानुन दिवसको अवसरमा विशेष अदालतले आज आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् ।

‘कानुनी सेवालाई सबैका लागि पहुँचयोग्य र सर्वसुलभ बनाउनुपर्छ भन्ने उद्देश्यसहित काठमाडौँ महानगरपालिकाले निःशुल्क कानुनी सेवा दिदैँ आएको छ,’ उनले भनिन्, ‘कानुनी राज्य स्थापना गर्न कानुनी सेवालाई सबैको पहुँचमा पुर्‍याउनुपर्छ भनेर हामीले निःशुल्क कानुनी सेवाको सुरुवात गरेपछि अहिलेसम्मको तथ्याङ्क अनुसार काठमाडौँ महानगरपालिकाबाट ५२ हजार ७ सय ४० जनाले निःशुल्क कानुनी सेवा लिएका छन् ।’

उपप्रमुख डंगोलले काठमाडौँ महानगरपालिकाले अहिलेसम्म ८३ वटा सुनुवाइ गरेको भन्दै ६ सय ८५ वटा विवाद मध्ये ३ सय २६ वटा निर्णय गरिसकेको र ९० वटा मेलमिलापबाट विवाद समाधान गरेको जानकारी दिइन् ।

उनले निःशुल्क कानुनी सेवासँगै काठमाडौँमा मेलमिलापको सङ्ख्यामा पनि वृद्धि भएको जानकारी दिइन् । ‘हामीले कानुनी सेवालाई पहुँचयोग्य बनाउन ३२ वटै वडामा मेलमिलाप केन्द्र र महिला सञ्जालको स्थापना गरेका छौँ,’ उनले भनिन्, ‘लैङ्गिकताका आधारमा हुने हिंसालाई सम्बोधन गर्न र सरल, सहज अनि समयमै न्यायको अनुभूति गर्ने अवस्था बनोस् भनेर हामीले महिला सञ्जालको स्थापना गरेका हौँ । जसका कारण महिला हिंसाका धेरै घटनामा न्यायका लागि न्यायिक समितिसम्म कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।’

उनले कार्यक्रममा बोल्दै स्थानीय तहदेखि सर्वोच्चसम्म नै कानुनको कार्यान्वयनका सन्दर्भमा चुक्ने गरेको दृष्टान्त उल्लेख गरिन् । यो सबैभन्दा ठुलो चुनौती भएको उनको भनाइ थियो । ‘कानुनका विषयमा छलफल मात्रै गरेर पुग्दैन । कानुनी राज्य कसरी स्थापना गर्ने भन्ने विषयको बहस पनि आवश्यक छ,’ उनले भनिन्, ‘कानुन बन्नु सबै कुरा होइन । त्यसको कार्यान्वयन ठुलो कुरा हो । अहिले पनि कार्यान्वयनको पक्ष हेर्ने हो भने फितलो छ । कानुन मात्रै बन्ने अनि त्यसको परिपालना नगर्ने र कार्यान्वयनमा पनि ध्यान नदिने हो भने त्यसको कुनै औचित्य छैन ।’
उनले कानुनबारे नागरिक अझै पनि अनविज्ञ रहेको भन्दै नागरिकसम्म पहुँच पुग्ने गरी कानुनका दफा दफा छलफल गरेर त्यसको समीक्षा गर्दै अघि बढ्न आवश्यक रहेको पनि उनले उल्लेख गरिन् । त्योसँगै कानुन सबैका लागि व्यवहारिक छ कि छैन ? भन्ने पनि गहिरो बहस गरेर बलियो कार्यान्वयन गर्नेगरी अघि बढ्नुपर्नेमा जोड दिइन् ।

उनले संविधानको भाग–७ को धारा २१७ मा स्पष्टसँग न्यायिक समितिको परिकल्पना गरेको भन्दै स्थानीय तह र अझ न्यायिक समितिलाई अझै फराकिलो र बलियो बनाएर लैजानुपर्नेमा पनि जोड दिइन् । ‘स्थानीय विवादलाई निरुपण गर्ने हो भने ती विवाद अदालतसम्म पुग्दैनन्,’ उनले भनिन्, ‘न्यायिक समितिले विवाद निरूपण र मेलमिलापको माध्यमबाट समस्याहरू हल गरेर जान सक्छन् । तर, त्यसका लागि न्यायिक समितिका अधिकारलाई अझै फराकिलो र बलियो बनाउनुपर्छ । त्यसो हुँदा नागरिकलाई न्यायका लागि आर्थिक र मनोवैज्ञानिक बोझलाई पनि कम गर्न सकिन्छ ।’

उनले कानुन दिवसका दिन कानुनकै विषयमा बोल्न पाउँदा खुशी लागेको भन्दै जनताले कानुन हाम्रा लागि पनि हो भन्ने महसुस गराउने गरी अघि बढ्न स्थानीय सरकारदेखि सर्वोच्चसम्मको हातेमालो आवश्यक रहेको उल्लेख गरिन् ।


प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?