Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

महाकालीमा डुङ्गा चलाउन भारतीय पक्षले लगायो रोक


२१ चैत्र, बैतडी । बैतडीको तल्लोस्वराडस्थित नेपाल–भारत सीमा नदी महाकालीमा डुङ्गा सञ्चालन गर्न भारतीय पक्षले रोक लगाएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकास्थित हल्दुविनायक घाटमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले डुङ्गा सञ्चालनमा रोक लगाएको हो ।

यहाँका अन्य घाटमा सहजैरुपमा डुङ्गा सञ्चालनमा भए पनि हल्दुविनायक घाटमा एसएसबीले एक वर्षदेखि अवरोध गर्दै आएको डुङ्गा चालक सुरेन्द्र चन्दले जानकारी दिए । पञ्चेश्वर गाउँपालिकाले महाकालीमा रहेका घाटहरुमा डुङ्गा सञ्चालनका लागि ठेक्का खोलेर सुरेन्द्रलाई अनुमति पाएको भए पनि भारतीय पक्षले अवरोध गर्दा समस्या भएको छ ।

गाउँपालिकाले रू ६६ हजार ठेक्कामा डुङ्गा चलाउने अनुमति दिए पनि एसएसबीले डुङ्गा चलाउन रोक लगाएको उनको भनाइ छ । “महाकालीमा डुङ्गा चलाएरै जीवनयापन गर्दै आएको थिए । गत वर्षदेखि एसएसबीले डुङ्गा सञ्चालन गर्न नदिँदा रोजिरोटी नै बन्द भएको छ”, उनले भने ।

एसएसबीले भारतीय प्रशासनको पनि अनुमति चाहिने भन्दै सञ्चालनमा अवरोध गरेको चन्दको भनाइ छ । डुङ्गा निर्माणका लागि एक लाख बढी र अनुमतिबाट लागि ६६ हजार खर्च भएको उनले बताए ।

भारतीय सीमा सुरक्षा बलको अवरोधबारे गाउँपालिकालाई पटक–पटक जानकारी गरिएको भए पनि कुनै सुनुवाइ नभएको चन्दको गुनासो छ । “डुङ्गा चलाउनका लागि गाउँपालिकाले अनुमति दिएकाले पटक–पटक गाउँपालिकामा धाए पनि कुनै सुनुवाइ भएको छैन । भारतीय प्रशासनको अनुमति म कहाँबाट ल्याऊँ”, उनले भने ।

हल्दुविनायक घाटमा एसएसबीले डुङ्गा सञ्चालनमा रोक लगाएकोबारे जिल्ला प्रशासन कार्यालयलाई खबर भइसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । गाउँपालिकाले ठेक्का खोलेका डिम्बर, देवताल, ढोया घाटमा सहजै डुङ्गा सञ्चालनमा छन् ।

उनले भने, “अन्य घाटमा गाउँपालिकाको अनुमतिले डुङ्गा सञ्चालनमा छन्, हल्दुविनायक घाटमा अवरोधबारे जिल्ला प्रशासन लगायतका माथिल्ला निकायमा खबर गरिसकेका छौँ । तर समस्या समाधान हुन सकेको छैन ।”

हल्दुविनायक घाटमा एसएसबीले डुङ्गा सञ्चालन गर्न नदिएकोबारे भारतीय सुरक्षा निकायलाई जानकारी गराइसकिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । उनले भने, “डुङ्गा सञ्चालनमा रोक लगाएकोबारे गाउँपालिकाले हामीलाई जानकारी गराएको थियो, हामीले पिथौरागढका जिल्ला अधिकारीलाई खबर गरिसकेका छौँ ।”

पिथौरागढका सुरक्षा अधिकारीसँग चार÷पाँचपटक डुङ्गा सञ्चालनमा रोक लगाएकोसम्बन्धी कुरा भएको र पत्राचारसमेत भएको प्रजिअ पन्थीले बताए । उनले भने, “पटक–पटक फोन र पत्रचार गर्दासमेत समस्या समाधान हुन सकेको छैन, अब केही दिनमै सीमा समन्वय बैठकको तयारी छ, त्यसमा पनि कुरा गर्छौं ।”

महाकाली नदीमा पुल नहुँदा तल्लोस्वराडका नागरिक डुङ्गामार्फत ओहोरदोहोर गर्ने गरेका छन् । भारतीय बजार नजिक रहेकाले यहाँका नागरिक किनमेलका लागिसमेत पारि जाने गर्दछन् । तर डुङ्गा सञ्चालनमा रोक लगाउँदा समस्यामा परेका छन् ।

पुल निर्माणका लागिसमेत भारतीय पक्ष सहमत नहुँदा यहाँ पुल बन्न सकेको छैन । जोखिमपूर्ण रुपमा डुङ्गाको सहारामा आवतजावत गर्नसमेत यहाँका नागरिक बाध्य भएका हुन् । तल्लोस्वराड क्षेत्रमा डुङ्गा सञ्चालन हुने आठवटा घाट छन् ।


प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?