
काठमाडौँ। श्रम, तथा रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नीति तथा कार्यक्रमले योजना र कार्यक्रमको दिशा निश्चित निर्देश गरेको बताएका छन् ।
उनले नीति तथा कार्यक्रम समयसीमा तोकेर हुने कामलाई हुने र नहुने कामलाई नहुने भनेर आएको बताउदै नीति तथा कार्यक्रममा उद्यमशीलता, आन्तरिक रोजगारी, सीपयुक्त जनशक्ति तयार गर्नेदेखि कृषिलगायत उत्पादनमुलक क्षेत्रमा रोजगारी सिर्जनाका लागि जोड दिइएको स्पष्ट पारेका छन् । उनले सरकारले आन्तरिक रोजगार वर्ष घोषणा गरेकाले मुलुकमा जुन किसिमको केही भएको छैन भन्ने भास्य निर्माण गरिएको छ त्यसलाई चिर्नका लागि दक्ष जनशक्ति तयार गर्ने र उद्यमशीलताको आधारमा नयाँपुस्ता लक्षित कार्यक्रम घोषणा गरिएको दाबी गरेका छन् ।
उनले भने, ‘सबैभन्दा पहिलो कुरा सरकारले आन्तरिक रोजगार वर्ष घोषणा गरेको छ । मुलुकभित्र रहेका सम्पूर्ण सम्भावनाहरुका आधारमा दक्ष जनशक्ति निर्माण गर्ने । स्वरोजगार बनाउने नीति अख्तियार गरिएको छ । योसँगै हामीले सम्पूर्ण प्रक्रियाला डिजिटल माध्यम बनाउने नीति छ । अब नयाँ पुस्तालाई उद्यमशीलतामा अगाडि बढाउने हिसावले काम गर्नेछौं । रोजगारका सम्भावना सिर्जना गरेर वैदेशिक रोजगारमा गएकाहरुलाई समेत फर्काएर ल्याएर मुलुकको उद्यमशीलतासँग जोडेर मुलुकलाई आर्थिक रुपान्तरणका हिसावले अघि बढ्ने कुरा भएको छ ।’
उनले प्राविधिक शिक्षलाई ग्रेडिङ गरेर विश्वविद्यालयसम्म लैजाने नीति लिएको पनि स्पष्ट पारेका छन् ।
प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार