
काठमाडौँ। नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले तीनकुनेमा जस्तै संसदभित्र समेत हुलहुज्जत गर्न खोजेको आरोप लगाएका छन् ।
सोमवार संघीय संसद परिशरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो आरोप लगाएका हुन् । उनले संसदभित्र राप्रपा सांसदहरुले गरेको क्रियाकलापबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा गम्भिर समिक्षा गर्ने समेत बताएका छन् । उनले संविधानमा नलेखिएका शब्दहरु संसदको कल्चरमा नआउने स्पष्ट पार्दै उनले राजावादीको नाममा संविधानले नचिनेका शब्दहरु सदनभित्र मात्र नभई सदनबाहिर समेत कानून विपरित रहेको उनको तर्क छ ।
उनले भने, ‘संविधानमा नलेखिएका शब्दहरु संसदका कल्चरहरुमा यस्ता विषयहरु आउन सक्दैनन् । यी पूर्व भइसकेका विषयहरु हुन् । राजावादीको नामबाट संविधानले नचिनेका शब्दहरु जे कुरा भइरहेको छ । यो सदनभित्र मात्र होइन । सदनबाहिर पनि कानून विपरित कुरा हो ।’
उनले प्रधानमन्त्री बोल्दै गर्दा भएको अमर्यादित र अराजक गतिविधिबारे कार्यव्यवस्था समितिको बैठकमा छलफल गरिने बताए ।
प्रकाशित मिति: १८ चैत्र २०८१, सोमबार