
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा प्रतिगामी शक्तिहरुले टाउको उठाउने कोशिस गरिरहेको बताएका छन् ।
सोमवार काठमाडौंमा पार्टी निकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले इतिहास भइसकेको राजालाई ब्युँताउने कोशिस भइरहेको भएपनि सम्भव नरहेको जिकिर गरेका छन् । उनले पूर्वराजा शाहले के त्याग, तपस्या, योगदान गरेका छन् ? भन्दै प्रश्न गरेका छन् । इतिहास फेरि पछाडि फर्किन नसक्ने अध्यक्ष नेपालको भनाइ छ । उनले नेपाली समाज सामन्तवादको युगमा फर्किन नसक्ने बताएका छन् ।
अध्यक्ष नेपालले भने, ‘हाम्रो देशमा प्रतिगामी शक्तिहरुले टाउको उठाउने कोशिस गरिरहेका छन् । इतिहास भइसकेको राजालाई फेरि ब्युँताउने कोशिस गरिरहेका छन् । जो सम्भव छैन । के त्याग गरेको हुनाले, के तपस्या गरेको हुनाले, के योगदान गरेको हुनाले ? देश निर्माणमा के भुमिका खेलेको हुनाले, दमन गरेको हुनाले ? निरंकुशता लादेको हुनाले ? वंशको शासन चलाएको हुनाले, देशलाई गरिबी, बेरोजगारमा पिल्साएको हुनाले ? के कारणले ? राम्रो काम गरेको त देखिँदैन । नराम्रो काम गर्नेलाई पुरस्कृत गर्नेकुरा अस्वीकार्य हुन्छ । कसैको भ्रममा नपर्नुस्, सत्य र तथ्यको कुरा बुझ्नुस् । इतिहास फेरि पछाडि फर्किन सक्दैन । अब संसार र नेपाली समाज सामन्तवादको युगमा फर्किन सक्दैन । कुनै परिवारको कोही दास बन्न चाहँदैन । कुनै परिवारको देशलाई पेवा गर्न चाहँदैन ।’
अध्यक्ष नेपालले जनताका छोराछोरी देशको राष्ट्रपति बन्न पाउने की नपाउने भन्दै प्रश्न गरेका छन् ।
प्रकाशित मिति: १८ चैत्र २०८१, सोमबार