
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन नेपाली काँग्रेस– नेकपा एमालेहरु सत्तामा भजन कीर्तन गाउँदै र मादल बजाउँदै आइपुगेको हो ? भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् । उनले चैत १५ गते भएको राजावादी समूहको आन्दोलनमा आन्दोलनकारीले मात्र नभई राज्यपक्षबाट समेत ज्यादति गरिएको आरोप लगाउदै अहिले सत्तामा रहेका दलहरु समेत तोडफोड र मान्छे मारेर सत्तामा पुगेको टिप्पणी गरेका छन् । उनले सरकारले राजावादी आन्दोलन बिथोल्नको लागि घरको छतमा बसेर म्याद गुज्रेका अश्रुग्याँस फालेको आरोप लगाएका छन् ।
उनले भने, ‘चैत १५ गते आन्दोलनकारीले मात्रै ज्यादति गरेको हो ? त्यो नियन्त्रण गर्ने दायित्व सरकारको होइन ? तपाई कांग्रेस–एमाले भन्नेहरु आज यो सत्तामा भजन कीर्तन गाउँदै मादल बजाउँदै आइपुगेको हो ? तपाईहरु तोडफोड नगरि आएको हो ? मान्छे नमारी आएको हो ? त्यसकारण म भन्छु, सविन महर्जनलाई हिँडिराखेको बेला गोलि किन हानियो ? छतमा बसेर किन म्याद सक्केको अश्रुग्याँस बर्साइयो ? किन माथिबाट गोलि हानियो ? त्यसको जवाफ चाहिन्छ ।’
उनले न्यायिक छानविन आयोग गठन गरि दोषिलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रकाशित मिति: १८ चैत्र २०८१, सोमबार