
काठमाडाैं । राजसंस्था फर्काउनको लागि गठित ‘जनआन्दोलन परिचालन समिति’ का संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई महत्वकांक्षी राजा भन्न नमिल्ने बताएका छन् । उनले प्रश्न गरे,‘चुप लागेर जंगलमा बसेको राजा कसरी महत्वकांक्षी हुन्छ ? त्यो बेलाको त्यही सिच्युएशन थियो, अब यो कोट्याएर के फाईदा छ ?’
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आफूहरु राजसंस्था फर्काउनको लागि सडकमा उत्रिन लागेको स्पष्ट पारे । फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा स्वागतमा जनलहर देखिएको भन्दै शाहको प्रतिष्ठा बढेको दाबी गरे ।
तर, नेताहरु फुटबल प्रतियोगितामा जाँदापनि नाराबाजी लाग्ने गरेको र उनीहरुलाई दुत्कार्ने काम भएको भन्दै नेताहरुभन्दा राजाको प्रतिष्ठा बढेको सुवेदीको दाबी छ । नेपालमा राजसंस्था भैराखेको भए अहिलेको जस्तो देशको दुदर्शा नहुने उनको दाबी छ ।
प्रकाशित मिति: ६ चैत्र २०८१, बुधबार