Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

काठमाडौंमा मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै आउने


१९ चैत्र, काठमाडौं । तीन वर्षदेखि बर्सेनि हिउँदको समयमा काठमाडौँ ल्याइएको मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै आउने भएको छ । वर्षामा समेत पानी ल्याउने गरी तयारी अघि बढेको छैन ।

तीन वर्ष पहिले मेलम्चीमा गएको ठूलो बाढीका कारण क्षति भएको संरचना पुनःनिर्माणका लागि कुनै निर्णय नहुँदा यो वर्ष पनि हिउँदपछि मात्रै मेलम्चीको पानी आउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । गत वर्ष जस्तै यस वर्ष पनि बर्खा सुरु भएपछि बन्द गर्नुपर्ने अवस्था रहेको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए।

वर्षाको समयमा सञ्चालनका लागि केही गर्न सकिएको छैन । केही साना संरचना थपेर बाह्रै महिना चलाउन सकिन्छ कि भनेर डिजाइन गरिएको भए पनि निर्णय हुन नसकेर काम हुन नसकेको उनले बताए।

वैकल्पिक प्रणालीको गेट नम्बर १ मा केही साना संरचना राख्न सकिएमा वर्षायाममा पनि चलाउन सकिने देखिएको आयोजनाले जनाएको छ । संरचना थप गरेर वर्षामा सञ्चालनका लागि डिजाइन फाइनल भए पनि त्यसको मूल्याङ्कन गरेर बजेट व्यवस्थापन भएपछि मात्रै ठेक्का लगाइने उनको भनाइ छ । हेडवक्र्स पूरै क्षति भएको हुँदा मर्मत मात्रै गरेर काम हुनसक्ने अवस्था छैन ।

आयोजनास्थलभन्दा माथिल्लो भागमा अझै पनि पहिरोको जोखिम छ । हेडवक्र्स पहिले भएको ठाउँमा बनाउने हो भने त्यसको रोकथामको काम पहिले गर्नुपर्ने उनले बताए।

विसं २०७८ असारमा आयोजनाको निर्माण थोरै मात्रै बाँकी हुँदा बाढीले अम्बाथानस्थित आयोजनास्थलमा ठूलो क्षति गराएको थियो । केही दिन पहिले मात्रै सुरुङ बन्द गरिएकाले त्यहाँ क्षति पुग्न नपाएपछि हेडवक्र्सलगायत त्यहाँका अरु भौतिक संरचनामा क्षति पुगेको थियो । हेडवक्र्स सम्पन्न नभएकाले त्यतिबेला अस्थायी बाँधमार्फत पानी पथान्तरण गरिएको थियो ।

दुई वर्ष पहिलेको बाँकी काम अहिलेसम्म पूरा भएको छैन । त्यतिबेला गेटको फ्रेम जडान भइसकेर त्यसको प्यानल जोड्न बाँकी थियो । फ्रेम जोड्ने ठाउँ नै क्षति भएकाले थप काम हु्न नसकेको सूचना अधिकारी पन्तले बताए।

अहिले हेडवक्र्स पुनःनिर्माण गर्नुपर्नेछ । हेडवक्र्स कस्तो बनाउने भन्नेमा नै त्यसको लागत फरक हुने उनले बताए। पहिलेको जस्तो बनाउन झण्डै रू एक अर्ब लाग्ने देखिएको छ ।

हेडवक्र्स कस्तो र कहिलेसम्म बनाउने भन्ने नीतिगत निर्णय हुनुपर्ने भएपनि अहिलेसम्म छलफल नै नभएको सूचना अधिकारी पन्तले बताए। दातृ निकाय एशियाली विकास बैंकले संरचनामा पुगेको क्षतिका विषयमा अध्ययन गरिसकेको र अध्ययन प्रतिवेदन खानेपानी मन्त्रालयमा दिएपछि निष्कर्षका आधारमा निर्णय हुनसक्ने उनको भनाइ छ ।

उनले भने, “एडिबीबाट निष्कर्ष आएपछि नै सरकारले पुनःनिर्माणका लागि निर्णय गर्नसक्छ ।” मेलम्चीको पानी काठमाडौँमा गत मङ्सिरदेखि पुनःवितरण सुरु गरिएको थियो ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?