Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

काठमाडौंमा मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै आउने


१९ चैत्र, काठमाडौं । तीन वर्षदेखि बर्सेनि हिउँदको समयमा काठमाडौँ ल्याइएको मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै आउने भएको छ । वर्षामा समेत पानी ल्याउने गरी तयारी अघि बढेको छैन ।

तीन वर्ष पहिले मेलम्चीमा गएको ठूलो बाढीका कारण क्षति भएको संरचना पुनःनिर्माणका लागि कुनै निर्णय नहुँदा यो वर्ष पनि हिउँदपछि मात्रै मेलम्चीको पानी आउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । गत वर्ष जस्तै यस वर्ष पनि बर्खा सुरु भएपछि बन्द गर्नुपर्ने अवस्था रहेको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए।

वर्षाको समयमा सञ्चालनका लागि केही गर्न सकिएको छैन । केही साना संरचना थपेर बाह्रै महिना चलाउन सकिन्छ कि भनेर डिजाइन गरिएको भए पनि निर्णय हुन नसकेर काम हुन नसकेको उनले बताए।

वैकल्पिक प्रणालीको गेट नम्बर १ मा केही साना संरचना राख्न सकिएमा वर्षायाममा पनि चलाउन सकिने देखिएको आयोजनाले जनाएको छ । संरचना थप गरेर वर्षामा सञ्चालनका लागि डिजाइन फाइनल भए पनि त्यसको मूल्याङ्कन गरेर बजेट व्यवस्थापन भएपछि मात्रै ठेक्का लगाइने उनको भनाइ छ । हेडवक्र्स पूरै क्षति भएको हुँदा मर्मत मात्रै गरेर काम हुनसक्ने अवस्था छैन ।

आयोजनास्थलभन्दा माथिल्लो भागमा अझै पनि पहिरोको जोखिम छ । हेडवक्र्स पहिले भएको ठाउँमा बनाउने हो भने त्यसको रोकथामको काम पहिले गर्नुपर्ने उनले बताए।

विसं २०७८ असारमा आयोजनाको निर्माण थोरै मात्रै बाँकी हुँदा बाढीले अम्बाथानस्थित आयोजनास्थलमा ठूलो क्षति गराएको थियो । केही दिन पहिले मात्रै सुरुङ बन्द गरिएकाले त्यहाँ क्षति पुग्न नपाएपछि हेडवक्र्सलगायत त्यहाँका अरु भौतिक संरचनामा क्षति पुगेको थियो । हेडवक्र्स सम्पन्न नभएकाले त्यतिबेला अस्थायी बाँधमार्फत पानी पथान्तरण गरिएको थियो ।

दुई वर्ष पहिलेको बाँकी काम अहिलेसम्म पूरा भएको छैन । त्यतिबेला गेटको फ्रेम जडान भइसकेर त्यसको प्यानल जोड्न बाँकी थियो । फ्रेम जोड्ने ठाउँ नै क्षति भएकाले थप काम हु्न नसकेको सूचना अधिकारी पन्तले बताए।

अहिले हेडवक्र्स पुनःनिर्माण गर्नुपर्नेछ । हेडवक्र्स कस्तो बनाउने भन्नेमा नै त्यसको लागत फरक हुने उनले बताए। पहिलेको जस्तो बनाउन झण्डै रू एक अर्ब लाग्ने देखिएको छ ।

हेडवक्र्स कस्तो र कहिलेसम्म बनाउने भन्ने नीतिगत निर्णय हुनुपर्ने भएपनि अहिलेसम्म छलफल नै नभएको सूचना अधिकारी पन्तले बताए। दातृ निकाय एशियाली विकास बैंकले संरचनामा पुगेको क्षतिका विषयमा अध्ययन गरिसकेको र अध्ययन प्रतिवेदन खानेपानी मन्त्रालयमा दिएपछि निष्कर्षका आधारमा निर्णय हुनसक्ने उनको भनाइ छ ।

उनले भने, “एडिबीबाट निष्कर्ष आएपछि नै सरकारले पुनःनिर्माणका लागि निर्णय गर्नसक्छ ।” मेलम्चीको पानी काठमाडौँमा गत मङ्सिरदेखि पुनःवितरण सुरु गरिएको थियो ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?