Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

पत्रकारको काम प्रश्न सोध्ने हो प्रश्न सोध्न छाड्दै, नछाडौँ तर…


  • मनाेज सत्याल,संसदीय मामिला पत्रकार समाजका अध्यक्ष

संघीय संसद सचिवालयले किशोर श्रेष्ठ र प्रकाश वलीको पास निलम्बन गर्ने अवस्था आउनु दुखद छ। यस्तो अवस्था नआउनुपर्थ्यो। यो समाचार सङ्कलन गर्ने पत्रकारहरूका लागि कदापि राम्रो अवस्था हैन। तर यतिबेला हामीले हेर्नुपर्छ, संसदमा अहिले को गइरहेको छ? पहिलो, पत्रकारहरू जो आफूले काम गर्ने पत्रपत्रिका, अनलाइन, टेलिभिजन जस्ता सञ्चारमाध्यमका लागि समाचार सङ्कलनका लागि गइरहेका छन्। जनताको सुसूचित हुन पाउने अधिकारका लागि काम गर्छन्। जनतालाई सूचना दिने उद्देश्यले वर्षौँदेखि सरकार र संसदको कामको खबरदारी गर्छन्। विधेयक निर्माणका चरणहरूमा हुनसक्ने गलत काम र खबरदारी गर्ने निकायमा रहेका व्यक्तिहरूलाई जिम्मेवार बनाउन रिपोर्टिङ गर्छन्।

दोस्रो, कन्टेन्ट क्रियटरहरु। जो आफैँ मिडिया सञ्चालन गर्छन्। आफैँ कन्टेन्ट क्रियट गर्छन् र आफैँ विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूमा सामाग्रीहरू राख्छन्। उनीहरू जनतालाई सुसूचित गर्ने उद्देश्य प्रेरित छन् वा छैनन् हामी भन्न सक्दैनौँ। तर उनीहरू भ्यूज प्रेरित छन्। कस्ता प्रश्न सोध्दा, कुन विषयलाई अतिरञ्जित गर्दा भ्यूज आउँछ भन्ने उनीहरूको ध्येय छ। युट्युबमा आधारित भएका कन्टेन्ट क्रियटरहरुले काँटछाँट गरेर संसदमा नभएको व्यक्तिलाई भिडिओमा जोडेर देखाउने गरिरहेका छन्। बोल्नै नचाहने सांसदहरूलाई हैरानी दिन पछ्याउने गरेका छन्। कसैको राष्ट्रियता नै तेजोवध गर्ने गरी राष्ट्र गान गाउन लगाउनेसम्मका काम भएका छन्। यो सबै भ्यूज प्रेरित छन्।

प्रधानमन्त्रीलाई प्रश्न सोध्न हुँदैन वा सार्वजनिक पद धारण गरेका व्यक्तिलाई प्रश्न सोध्न हुँदैन भन्ने हाम्रो मान्यता हुँदै, होइन। छैन। तर कन्टेन्ट क्रियटरहरुले आफ्नो कन्टेन्टका लागि जे जस्ता व्यवहार गरेका छन्। त्यसले दैनिक रिपोर्टिङ गर्न गएका साथीहरू लाई सूचना सङ्कलनमा अप्ठ्यारा आइपरेका छन्। कतिपय कन्टेन्ट क्रियटर साथीले गरेका अमर्यादित व्यवहारका कारण हामीले पनि गाली र हेपाइ सहेका छौँ। त्यसैले म फेरि पनि भन्छु – यस्तो अवस्था आउनु दुःखद छ। हामी संसद सचिवालयलाई संसदमा पत्रकार प्रवेश पास सम्बन्धी स्पष्ट मापदण्ड बनाएर कार्यान्वयनमा ल्याउन आग्रह गर्दछौँ।

समाचार सङ्कलनका लागि पत्रकारहरूका लागि सहज बनाउन संसद सचिवालयलाई आग्रह गर्दछौँ। प्रधानमन्त्री र मन्त्रीहरूलाई प्रश्न सोध्नका लागि संसदको लबीसम्म पत्रकारहरूलाई पहुँच दिने नियमावलीको व्यवस्था कार्यान्वयनका लागि आग्रह गर्दछौँ। अर्कोतर्फ साथीहरूले संसदीय मामिला के गर्दै छ भनेर प्रश्न सोध्नु भएको छ। म बताउन चाहन्छु – हाम्रो संस्थाले पत्रकारहरूले संसदीय रिपोर्टिङका आधारभूत विषय बुझ्न सकुन् भनेर किताब प्रकाशन गरेको छ। संसदीय पत्रकारिता सम्बन्धी पुस्तकमा संसदमा रिपोर्टिङबारे यथेष्ट जानकारी दिइएको छ। पत्रकारिता कुनै घोटेर पिलाउने विषय होइन। तर मामिलाले विगतमा संसदीय अनुभव, समिति प्रणाली र अहिले संसदीय पत्रकारिता सम्बन्धी पुस्तक निकालेको यस्तै सिक्न चाहने साथीहरूका लागि हो। अझ हाम्रो पछिल्लो प्रकाशन त त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको पाठ्यक्रममा समेत सिफारिस भएको छ।म एउटा कुरामा सधैँ प्रस्ट छु – पत्रकारको काम प्रश्न सोध्ने हो। प्रश्न सोधौँ। प्रश्न सोध्न छाड्दै, नछाडौँ। तर प्रश्न के का लागि सोध्ने? जनतालाई सुसूचित गर्नका लागि अथवा आफ्नो भ्यूज बढाउनका लागि? मनमा गुनौँ।


प्रकाशित मिति: २१ फाल्गुन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?