
काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन क्लवद्वय मच्छिन्द्र र त्रिभूवन आर्मीले केपी ओली कप फुटबल च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रने दाबी गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार साँझ साढे पाँच बजे मच्छिन्द्र र आर्मी उपाधिका लागि भिड्ने भएका छन् । आईतवार भएको पत्रकार सम्मेलन आर्मी र मच्छिन्द्रले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने योजनासहित उत्रने विश्वास व्यक्त गरे । आर्मीले सेमिफाइनलमा संकटालाई २–१ ले हराउँदै फाइनलमा स्थान बनाएका हो । आर्मीका प्रशिक्षक मेघराज केसीले विदेशी र राष्ट्रिय खेलाडी सम्मिलित मच्छिन्द्र क्लव उत्कृष्ट देखिएको उल्लेख गर्दै आफ्नो टोली पनि युवा रहेको र पछिल्ला खेलका कमजोरी सुधारसहित केपी ओली कप जित्ने बताए । त्यहीअनुसार आफ्नो टोलीले योजना र रणनीति पनि बनाएको प्रशिक्षक केसीले उल्लेख गरे ।
आर्मीले ‘ए’ डिभिजिन लिगकै तयारीका लागि टोली बनाएको र अब नतिजा दिन आफ्नो टोली सक्षम रहेको केसीको भनाइ छ । आर्मीका कप्तान जिलेस्पीजंग कार्कीले लामो समयदेखि राम्रो तयारी गरेकाले फाइनलमा स्थान बनाउन सफल भएको बताए । व्यक्तिगत प्रदर्शनभन्दा पनि टिम गेम हुँदा यो नतिजा आएको उनको बुझाइ छ । त्यसैले समग्र टिम गेम राम्रो हुँदा यहाँसम्म आइपुगेको र फाइनलमा पनि सोहीअनुरूप प्रदर्शन गर्ने कप्तान जिलेस्पीजंगले बताए । उनले फाइनलमा जित निकाल्ने लक्ष्यसहित खेल्ने विश्वास पनि व्यक्त गरेका छन् ।
मच्छिन्द्र क्लव सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४–० ले हराउँदै उपाधि यात्रा तय गरेको हो । आइतबार पत्रकार सम्मेलनमा मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले फाइनलका लागि शारीरिक र मानसिक रूपमा तयार रहेको उल्लेख गरे । डिफेन्डिङ च्याम्पियन जस्तै भएर खेल्ने र ९० मिनेटभित्र नै गोल गर्दै जित निकाल्ने उनको विश्वास छ । आर्मी उत्कृष्ट लयमा रहेको र उनीहरूले युनाइटेड फुटबल खेल्ने भएकाले फाइनलमा सहज नहुने प्रशिक्षक न्यौपानेले बताएका छन् ।
उनले फाइनल पुगेको आर्मीलाई कमजोर प्रतिद्वन्द्वी नमानी खेल्ने र आफ्नो मिडफिल्डमा सुधार भएकाले उपाधि भिडन्तमा उत्कृष्ट खेल्ने उल्लेख गरे । मच्छिन्द्रका कप्तान तथा गोलकिपर विशाल श्रेष्ठले दुई महिनादेखि राम्रो खेल्दै आएको र फाइनलमा पनि सोही किसिमको प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । उनले युवा र अनुभवी खेलाडीसहित आर्मी राम्रो टोली बनेको उल्लेख गर्दै आफ्नो टोलीले पनि राम्रो चुनौती दिने बताए । तेस्रो पटक फाइनलको अवसरलाई सदुपयोग गर्ने उनी बताउँछन् । एउटा गोलकिपरका लागि विश्वस्तरीय गोलकिपर तथा लिजेन्ड जियानलुइजी बुफोनलाई देख्न पाउँदा धेरै खुसी लागेको विशालले बताए ।
उक्त फाइनल खेलमा इटालीका लिजेन्ड बुफोनसहित सांगीतिक कार्यक्रम पनि हुँदैछ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सुरु भएको प्रतियोगितामा हरेक खेलको विजेताले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ ।
प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार