Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

खाद्य कम्पनीले किसानको धान खरिद गर्ने


सिरहाका किसानले धान थन्क्याएको करिब एक महिनाभन्दा बढी समय बितिसकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लहानले धान खरिद प्रक्रिया अगाडि बढाउने भएको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गरी यही पुस १७ गतेदेखि किसानको धान खरिद गर्ने जनाएको हो ।

कम्पनीले धान खरिद प्रक्रिया ढिलाइ गरेपछि यहाँका किसानको गुनासो बढ्दै गएको थियो । कम्पनीका प्रमुख रबनकुमार यादव भन्नुहुन्छ, “धान खरिदका लागि केन्द्रीय कार्यालयबाट परिपत्र आउन ढिलाइ भयो, विगतमा मङ्सिर पहिलो वा दोस्रो सातासम्म खरिद प्रक्रिया भइसक्थ्यो ।” यादवका अनुसार यस वर्षका लागि मध्यम धान सोना मन्सुलीको खरिददर रु तीन हजार एक सय २८ प्रतिक्विन्टल र कतर्नी धानको रु तीन हजार आठ सय प्रतिक्विन्टल निर्धारण गरिएको छ । केन्द्रले तोकेको कोटाअनुसार यस कार्यालयले १५ हजार क्विन्टल किसानको धान खरिद गर्ने उहाँले बताउनुभयो ।

यहाँ सिरहा, सप्तरी र उदयपुर गरी तीन जिल्लाका किसानले धान बिक्रीका लागि ल्याउने गर्दछन् । उत्पादन परिमाणको अनुपातमा सरकारले खरिद गर्ने धानको परिमाण एकदमै न्यून रहेको यहाँका किसानको गुनासो छ । खाद्य कम्पनीले सीमित परिमाणमा मात्र धान खरिद गर्ने भएको हँुदा यहाँका किसान सस्तोमा व्यापारीलाई धान बेच्न बाध्य छन् । धान बिक्री गर्ने किसानले लालपुर्जा, सम्बन्धित स्थानीय तहको सिफारिस र नागरिकताको प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने कार्यालय प्रमुख यादव बताउनुहुन्छ ।

ठूलो परिमाणमा किसानले धान बिक्रीमा ल्याउने तर कार्यालयले सीमित धान मात्र खरिद गर्ने हुँदा त्यसमा बिचौलियाको मात्र पहुँच पुग्ने व्यापक गुनासो बढेपछि खाद्य कम्पनी लहानले यस वर्ष प्रतिकिसान एकपटक वा पटक–पटक गरी ५० क्विन्टलसम्म मात्र धान खरिद गर्ने नीति लिएको यादवले बताउनुभयो । धान बेचेर हिउँदे बाली लगाउन खर्चको जोहो गर्नुपर्ने भएका कारण किसान मर्कामा परेका छन् । “सरकारलाई उत्पादनको धान बेच्न चाहन्छौँ, तर समयमा सरकारले किन्दैन, व्यापारीलाई सस्तोमा धान बिक्री गर्यो, पैसा तुरुन्त पाइँदैन”, बरियारपट्टि गाउँपालिका–५ का कृषक देवनारायण यादव भन्नुहुन्छ ।उहाँले लागतअनुसार मूल्य नपाएको गुनासो पनि गर्नुभयो ।

त्यस्तै बरियारपट्टि–४ का अर्का किसान वीरेन्द्रकुमार यादवका अनुसार खेतमा खनजोत, ज्याला तथा ट्र्याक्टर लगाउँदा लाग्ने लागतले लगानी धान्दैन । उहाँका भन्नुहुन्छ, “समयमै मलखाद्य तथा कृषियन्त्र उपकरण सरकारले व्यहोरिदिने हो भने उत्पादन लागतमा कमी हुन गई वास्तविक किसानको उत्थान हुने थियो ।” नजिकै नेपाल–भारत खुला सिमाना भएका कारण व्यापारीले भारतबाट सस्तोमा धान खरिद गरी ल्याउने र त्यही धान किसानको नामबाट यहाँ खाद्य कम्पनीलाई बेच्ने गरेको हँुदा वास्तविक किसान सधैँ मर्कामा पर्ने गरेको राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका मधेस–प्रदेश प्रमुख मुक्तिनारायण यादव बताउनुहुन्छ ।


प्रकाशित मिति: १३ पुष २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?