काठमाडाैं । वृद्धाश्रममा जानुपर्ने आदरणीय बाजेहरू राष्ट्रिय सभामा भत्ता खान गएकाले कसैले पनि लाइक सेयर र सरकारले गरेका गलत गतिविधिहरूको कमेन्ट गर्न नपाउने मिडिया काउन्सिल विधेयक पढ्दै नपढी हुबहु पास गरेका छन्। यो धर्तीका लागि केही दिनका पाहुना भएका बाजेहरूले आउने पुस्ताहरूको उज्वल भविष्य कहाली लाग्दो अन्धकार बनाइदिए।
श्रीपेच फुकालेर सडकमा गएका राजा त्रिभुवन र राणा शासनका विरुद्धमा लडेका शहीदहरूको यिनीहरूलाई पाप लाग्छ। बोल्न र लेख्न पाउनुपर्छ भन्दै बलिदान दिएका शहीदहरुको पाप लाग्छ। जीवनभरि स्वतन्त्रताका लागि लड्ने विश्वश्वर प्रसाद कोइरालाको पाप लाग्छ। जनताले लेख्न र बोल्न पाउनुपर्छ भन्दै त्रिशुलीमा हत्या गरिएका मदन भण्डारीको यिनीहरूलाई पाप लाग्छ।
यो राष्ट्रिय सभा को कुनै औचित्य छैन। वृद्रा आश्रम जान लागेका बाजेहरु थन्काउने र पार्टीका कार्यकर्ताहरुलाई मनाउने थलो बन्यो राष्ट्रिय सभा। त्यसैले राष्ट्रिय सभाको अन्त्य गर्नु नै अबको आवश्यकता हो।
प्रकाशित मिति: २९ माघ २०८१, मंगलवार