Trending
>>   मनमती खोलामाथि बनेका संरचनामाथि महानगरको डोजर (तस्बिरसहित) >>   मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय एआई नीति, २०८२ स्वीकृत ,अरु के के भए निर्णय >>   सामाजिक सञ्जाल र इन्टेलिजेन्स विधेयकप्रति काँग्रेसको स्पष्ट विमति छः विश्वप्रकाश शर्मा >>   एमसीसी अन्तर्गतका दुई वटा प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता >>   काँग्रेस सदैव नवप्रवर्द्धन र प्रविधिमार्फत सामाजिक रुपान्तरणको पक्षमा छः सभापति देउवा >>   पाइलटका पिता भन्छन् : ममाथि ह्यारेसमेण्ट भयो, उसको आत्मा नरोओस् >>   जर्मनीमा बेपत्ता भईन २२ बर्षे रोशनी ! >>   सौर्य एयरलाइन्स दुर्घटना प्रतिवेदनबारे मृतकका आफन्त:पीडितका कुरा सुनिदिए पनि न्याय पाएको अनुभुति हुन्छ >>   अत्याधिक गर्मीले फ्रान्सको जनजीवन प्रभावित >>   मधेसका मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
Logo
२९ श्रावण २०८२, बिहीबार
२९ श्रावण २०८२, बिहीबार

बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल


काठमाडौँ । बूढानिलकण्ठ नगरपालिकाले संयुक्त राष्ट्र सङ्घीय शिक्षा, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्वसम्पदा सूचीमा सूचीकृत हुन प्रारम्भिक चरणको प्रक्रिया आरम्भ गरेको छ ।

बूढानिलकण्ठ–३ स्थित विष्णु गुप्ताका पालामा दोस्रो शताब्दीमा निर्मित बूढानिलकण्ठ मूर्ति र मन्दिर क्षेत्रलाई युनेस्को विश्वसम्पदा सूचीमा समावेश गर्न आजदेखि औपचारिक रूपमा सरोकार निकाय, इतिहास र संस्कृतिविद्, विज्ञ, बुद्धिजीवी, लेखक, पत्रकार आदिको संलग्नतामा छलफल एवं अन्तरक्रिया गर्दै यसलाई निरन्तरता दिने भएको छ ।

नगरपालिका कार्यालयले नारायणस्थानको इतिहास, किंवदन्ती एवं कला सम्पदालाई विशिष्ट ढङ्गबाट अन्वेषण गरी अभिलेख तयार गर्न पनि आरम्भ गरेको छ । कार्यक्रममा प्रा दिनेशराज पन्त, धर्मसंस्कृतिविद् डा.गोविन्द टण्डन, नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दर, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, साहित्यकार– लेखक– पत्रकार स्नेह सायमी, श्याम रिमाल र श्रीश भण्डारी, विज्ञ हरिवंश किरात र प्रा. विष्णु श्रेष्ठले युनेस्को सूचीमा सूचीकरण गर्न मन्दिरको वास्तुकला तथा मूर्तिको प्रस्तरकला उत्कृष्ट र विशिष्टीकृत हुनुपर्ने र त्यसको प्रमाण दिन सक्नुपर्ने बताए । सोका लागि विशेषगरी शिव, नारायण र बुद्धको संयुक्त रूपयुक्त मूर्ति, वरिपरिका पाटीपौवा, मन्दिर, धारा, शिलालेख र आसपासका बस्ती, गुम्बा, आश्रमहरूको समग्र गहन अध्ययन हुनुपर्नेमा जोड दिए ।

उनीहरूले मूर्ति र मन्दिर क्षेत्रको सांस्कृतिक पक्ष तथा शिवपुरी–बूढानिलकण्ठ क्षेत्रको प्राकृतिक पक्षकै समग्र अध्ययन–अनुसन्धान गरी मिश्रित सम्पदाका दृष्टिले पनि सूचीमा पार्ने दृष्टिकोण हुनुपर्ने सुझाव पनि दिए ।

विज्ञ तथा जानकारहरूले मन्दिर क्षेत्रको इतिहास, आस्था र भावना एक ठाउँमा भए पनि यसको वस्तुगत अवस्था, संस्कृति आदिको अध्ययन–विश्लेषण गर्न विज्ञ टोली तयार गरी युनेस्को मापदण्ड भेट्ने गरी प्रतिवेदन तयार गर्नुपर्ने सुझाव पनि दिए ।

मन्दिर क्षेत्रमा पहिचान मेटिने गरी जथाभाबी घर, भवन, पसल आदि संरचना बन्न दिन नहुनेतर्फ ध्यानाकर्षण गराउँदै उनीहरूले कार्ययोजनासहित मन्दिर क्षेत्रको विकासका लागि गुरूयोजना बनाउन र सरोकार निकायका रूपमा आधिकारिक क्षेत्र विकास र सांस्कृतिक। प्राज्ञिक प्रतिष्ठान स्थापना गर्न आग्रह गरे ।

पुरातत्त्व विभाग, विश्वसम्पदा शाखाका प्रमुख रमेशराज पौडेलले विश्वसम्पदा क्षेत्रमा समावेश गर्नका लागि तिलौराकोट, पनौती र जनकपुरको विस्तृत अध्ययन प्रतिवेदन प्राप्त भएको र सम्भाव्य सूचीमा संरक्षित स्मारक क्षेत्र भएका १५ सम्पदा रहेको जानकारीका साथ सांस्कृतिक सघनता भएको क्षेत्र बूढानिलकण्ठ नगरपालिकाका सांस्कृतिक सम्पदामा अतिक्रमण हुन दिन नहुने र सम्पदा एकाइ स्थापना गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामा, प्रशासकीय अधिकृत केदारकुमार खड्का, पूर्वप्रमुख उद्धव खरेल र नगरपालिका उद्योगवाणिज्य बोर्डका महेश भण्डारीले मन्दिर क्षेत्रका परम्परागत हिती हटाइएको, रूख काटिएको, शिलालेखहरू हटाइएको र जथाभाबी ढङ्गले घरलगायत संरचना बनिरहेको, घण्ट, मूर्ति आदि धार्मिक वस्तुहरू पनि जसले पनि चढाउने र राख्ने काम भइरहेको गुनासो गर्दै यस क्षेत्रको समग्र अध्ययन र उत्खनन गरी सांस्कृतिक–प्राकृतिक क्षेत्र बनाइने प्रतिबद्धता व्यक्त गरे ।

उनीहरूले स्थानीय तह र गुठी संस्थानबिच समन्वय हुन नसकेको पनि औँल्याउँदै अब व्यवस्थित र एकीकृत अध्ययन गर्नाका साथ यस क्षेत्रसम्बन्धी पुस्तक, लेखरचना, दस्तावेज आदि सङ्कलन गरिने र विश्वसम्पदा सूचीमा पार्न निरन्तर बहस तथा छलफल थालिने जानकारी दिए ।


प्रकाशित मिति: २४ माघ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?