काठमाडाैं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले पछिल्लो समय १८ महिना सरकारको नेतृत्व गर्दा देशको लागि राम्रो रेकर्ड बनाएको स्पष्ट पारेका छन् । आज (मंगलबार) नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति म्याग्दीद्वारा बेनीमा आयोजित खबरदारी सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशलाई सधैं पछि पार्ने भ्रष्टाचार रहेको बताए ।
भ्रष्टाचारमा नेता र कर्मचारी पनि मुछिने गरेको उनको टिप्पणी थियो । उनले दलाल र विचौलियाहरुले जनताको रगत नराम्रोसँग चुसेको कुरा आफूले तेस्रो पटक प्रधानमन्त्री हुँदा नजिकबाट थाहा पाएको सुनाए । आफूले भूमाफियाहरुको विरुद्धपनि लडाईं छेडेको दाहालको दाबी थियो । देशमा विद्यमान आर्थिक संकटको समाधानको लागि भ्रष्टाचारको विरुद्ध लड्नुपर्ने आवश्यकत्ता औंल्याएर आफूले कदम चालेको पनि उनको भनाई छ ।
उनले आफ्नो चीन भ्रमणको क्रममा ८ वटा पराम्परागत नाका खोल्ने सहमति भएको स्मरण गराए । उनले आफूले भारतसँगमात्रै नभएर चीनसँगपनि विद्युत व्यापार गर्नुपर्छ भने त्रिदेशीय प्रसारण लाईनको सम्झौता गरेको दाबी गरे । आफू नेतृत्वको सरकारले राम्रो काम गर्दा भ्रष्टाचारी र विचौलियालाई सह्य नभएको उनको आरोप थियो ।
प्रकाशित मिति: २२ माघ २०८१, मंगलवार