Trending
>>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल >>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

मन्त्रिपरिषद् बिस्तारपछि राष्ट्रले गौरव गर्ने निर्णय गर्नेछु : प्रधानमन्त्री प्रचण्ड


१७ चैत्र, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले पूर्णता पाएपछि नेपाली जनता र इतिहासमा नै नयाँ रेकर्ड बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीको पाँचौ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन र समृद्धिका पक्षमा सरकारले कामको सुरुआत गरिसकेको र त्यसलाई अब थप गति दिने विश्वास दिलाएका हुन्।

प्रधानमन्त्रीले भने, “आज मन्त्रिपरिषद् बिस्तार भएपछि सरकारका कामले गति लिन्छ । यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु । केही ठूला आयोजना र राष्ट्रले गौरव गर्ने निर्णय गर्नेछु ।”

सो अवसरमा प्रधानमन्त्रीले वामपन्थी विचार बोक्ने कर्मचारी अरूभन्दा इमान्दार, कर्तव्यनिष्ठ र कर्मठ हुनुपर्ने बताउँदै त्यसका लागि प्रतिस्पर्धा गर्न कर्मचारीलाई आग्रह गरे। जनतालाई सुशासनको अनुभूति दिलाउने काम कर्मचारीको भएकाले त्यसलाई इमान्दार भएर कर्तव्यपथमा अगाडि बढ्नसमेत आग्रह गरे।

कर्मचारीको ट्रेड युनियन चाहिन्छ कि चाहिँदैन भन्ने बहस भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विगतको अनुभव र राजनीतिक परिवर्तनमा कर्मचारीले खेलेको भूमिकालाई आत्मसात् गर्दै त्यसलाई कायम राखेर जानुपर्छ भन्ने पक्षमा आफू रहेको बताए। कर्मचारीतन्त्रमा रहेको बेथिती र अराजकता अन्त्य गर्दै जनतालाई गुणस्तरीय सेवा दिनसमेत उनले आग्रह गरे ।

उनले सहमति नभए निर्वाचनका माध्यमबाट नेतृत्व चयन गर्न आग्रह गरे। उनले भने, “समझदारीका साथ नीति, योजना र कार्यक्रम पारित गर्नुस् र नेतृत्व चयन गर्नुस् भन्ने मेरो आग्रह छ । नेतृत्वमा टिको लगाउने प्रथाले फाइदा गरेको छैन । स्वस्थ प्रतिस्पर्धा गर्दा केही फरक पर्दैन । लोकतान्त्रिक प्रक्रियाबाट नै नेतृत्व चयन गर्दा राम्रो हुने देखियो ।”

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले ठूलो प्रयास र मेहनत गरेर, सरोकारवाला पक्षको धारणालाई समेत समेटेर सङ्घीय निजामती विधेयकलाई अन्तिम रुप दिइएको जानकारी दिए। उनले तयार भएको विधेयकलाई सहमतिका लागि अर्थ र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय पठाइएको बताए।

उनले आफू सामान्य प्रशासनमन्त्री भएर आएपछि कोहीकसैलाई पनि काखा र पाखा नगरेको, बरण्डामा भएका कर्मचारीको व्यवस्थापन गरिएको उल्लेख गरे। तल्ला तहका कर्मचारीले टे«ड युनियन गतिविधि गर्न पाए पनि उपसचिव र सहसचिवले भने राजनीति गर्न नमिल्ने उनको भनाइ छ ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले जनताका पक्षमा इमान्दार भएर काम गर्न कर्मचारी प्रशासनलाई आग्रह गरिन्। उनले कर्मचारीले प्रभावकारी काम गर्दा सरकारको समेत साख रहने भन्दै पार्टी सधैँ कर्मचारीका पक्षमा रहेको बताइन्।


प्रकाशित मिति: १७ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?